सूचनाको शक्ति - The Power Of Information

        

नजिकिँदै हरितालिका तीज

तीजका नाममा उच्छृंखलता, तडकभडक र देखासिखी धेरै

‘खै आजभोलि मनाउने तीज, तीजजस्तै लाग्दैन, तीजका नाममा उच्छृंखलता, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।’

नेपाली नारीहरुको महान चाड तीजको ऐतिहासिक मौलिकपन दिनप्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाहरुले तीज पर्वलाई पवित्र पर्वको रुपमा मनाउँदै आए पनि पछिल्लोमा तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरुले गुनासो गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-५ की मनकुमारी शाहीले विगतका दिनमा आफुले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्छिन्, ‘म सानो छँदा गाउँघरमा मादलको तालमा छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झना छ । अहिले त्यो सबै हराइसकेको छ ।’

विगतका दिनमा गाउघरमा सबै महिला दिदीबहिनी एकै ठाउमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पिडा भुल्ने गरेको उनको भनाई छ । मनकुमारी सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झदै भन्छिन्, ‘खै आजभोलि त हामीले मनाउने तीज, तीजजस्तै लाग्दैन, तीजका नाममा उच्छृंखलता, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।’

दिनप्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन नहु“दा मनकुमारी मात्र होइन नयाँ“ पिढीका महिलाहरु पनि चिन्तित छन् । बर्दिया घर भई हाल नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छाया खड्का पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हावी भएको दावी गर्छिन् ।

सानोमा दर खान पाइन्छ भनेर नै तीजको ब्रत बसेको बताउँदै छाँयाले भनिन्, ‘तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने चौतारी भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।’ नेपालगन्ज-१ की अनिता बोहोरा पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्छृखंल गीतको नियन्त्रण गर्नुपर्ने बताउँछिन् ।

‘चाडपर्व, संस्कृति र पहिचानलाई बचाई राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खा“ँचो छ,’ उनले भनिन् । बाँके कोहलपुरका विकास शाहीको सोच भने अलि फरक छ । उनी भन्छिन्, ‘तीजजस्तो पर्वमा महिलालाई मात्र होइन पुरुषलाई पनि सार्वजनिक विदा दिनसके सबै परिवार बसेर मनाउनुको रौनक बैग्लै हुन्छ ।’

महिला दिदीबहिनीहरुले आफ्नै भेषभुषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने विकासको धारणा छ । परम्परादेखि नेपाली नारीहरुले तीज पर्वलाई रमाइलो गरी नारीको मनाउँदै आएकोले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्वपूर्ण मानिन्छ । बाँके बनकटवाकी सुनिता थापा पनि तीज महिला दिदीबहिनीहरुका लागि दुःख बिसाउने पर्व भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘विगतमा झैँ तीज पर्व मनाउने चलन गाउघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ । तीज आउनु एकमहिना अघिदेखि गाउँघरतिर एकै ठाउँमा जम्मा भई मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोली अर्को घरमा तीजको नाचगान गरेर मनाउने गर्दथे । पछिल्लो समययता तीज पर्वको मौलीकपन हराउँदै गइरहेको छ ।’

सुनिताले तीजलाई रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराको गीत नृत्यभन्दा बढीजसो महिलाहरु टिभीमा आउने सिरियलप्रति आर्कषित भएको बताइन् । बाँके चिसापानीकी सरिता विक पनि नेपाली नारीहरुको लागि तीजको छुट्टै महत्व रहेको बताउँदै भन्छिन्, ‘तीज मनाउन महिलाहरुले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्छ ।’

महिलाले तीज मनाउन पश्चिमा संस्कृति छोड्नुपर्ने बताउँछिन्, बाँके बागेश्वरीकी नविना सापकोटा । उनी भन्छिन्, ‘आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर तडकभडकपूर्ण पश्चिमा संस्कृतितिर आकर्षित भइरहेका छन् । यसले नेपाली संस्कृतिको पहिचान नै हराउने त होइन भन्ने डर पनि उत्तिकै छ ।’

तीजमा विवाहिता महिलाहरु राता साडी र रातै चुडामा सजिएर आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहिता महिलाहरु राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउँछिन्, बाँके चिसापानीकी पवित्रा परियार । विगतमा महिलाहरुले भोग्नुपरेका समस्याहरुलाई गीतको माध्यमबाट भन्ने गर्दथे ।

उनी भन्छिन्, ‘आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने गर्छन् । तीज पर्वलाई संस्कृतिसँग जोड्न अरुको देखासिखी गर्नुहुँदैन ।’ पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व नमेटियोस् भनेर सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार १५:१३

लोकप्रिय