सूचनाको शक्ति - The Power Of Information

        

डुवान र कटानको पीडा

जीवनभर डुडुवा खोलाको डर

स्थानीय मानबहादुर बुढा भन्छन्, ‘दिउँसोमा त बाढी आए पनि भागेर ज्यान जोगाउँला राति सुतेको बेला बगाएर लैजाला भन्ने डर छ ।’

खेतीयोग्य जमिन कटान गर्दै डुडुवाखोला घर नजिकै आएपछि नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा नयाँबस्तीका भीमबहादुर वली विस्थापित भए । एक पटक विस्थापित भइसकेका उनलाई अझै पनि डुडुवाको डरले छाडेको छैन ।

‘बस्तीमै बाढी आएपछि विस्थापित भएर अलि टाढा सर्यौँ, यहाँ पनि डुडुवाले छाडेको छैन,’ वलीले भने, ‘गरिखाने खेत खोलाले बगाउँदै घरतिर आएको छ, जीवनभर खोलाले घरखेत बगाउने डरले नछोड्ने भयो ।’

रुकुमबाट बसाइँसराइँ गरी २०३३ सालमा साबिक मनिकापुर गाविसको थपुवा नयाँबस्तीमा घरजम गरेका वली २३ वर्षपछि २०५५ सालमा डुडुवा खोलाको कटान र डुबानका कारण घरखेत छाडेर विस्थापित भएका थिए । उनीसँगै त्यतिबेला उक्त बस्तीका ११ घरपरिवार विस्थापित हुन पुगेका थिए ।

वर्षामा ठूलो पानी पर्दा खोलामा बाढी आउने डरले मन आत्तिने गरेको स्थानीय मानबहादुर बुढाले बताए । ‘बाढी आएपछि धेरै कटान गर्छ, घरसम्मै बाढी आउँछ कि भन्ने डर लाग्छ,’ उनले भने, ‘दिउँसोमा त बाढी आए पनि भागेर ज्यान जोगाउँला राति सुतेको बेला बगाएर लैजाला भन्ने डर छ ।’

नेपालगन्ज–२० कै थपुवा बाबाघाटका केशवराम लोनियाको करिब १२ कट्ठा खेतीयोग्य जमिन डुडुवा खोलाले बगाइसकेको छ । ‘वर्षभरि खान पुग्ने खेत डुडुवाले बगाएर लगिसक्यो,’ लोनियाले भने, ‘बाँकी बचेको पनि कटान गरिरहेको छ, यस्तै हो भने खानबस्नै नसकिने अवस्था आउन लागेको छ ।’

डुडुवा खोलाको कटानबाट नेपालगन्ज–२० का गुन्नापुर, थपुवा नयाँ बस्ती, फारमटोल, थपुवा बाबाघाट र मदनापुरका बस्ती उच्च जोखिममा रहेको स्थानीय अगुवा नेपालगन्ज–२० का वडा सदस्य चक्र बुढाले बताए । वडा नं २० मा मात्र हालसम्म करिब २२ बिगाहा खेतीयोग्य जमिन डुडुवाले बगाएको दाबी गरे ।

बुढाले भने, ‘तत्कालै तटबन्धको व्यवस्था नभए यहाँका दर्जनौँ बस्ती र सयौँ बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत हुनेछ ।’ डुडुवा खोलाले कटान तीव्र पारेपछि बाँकेका तीन स्थानीय तहका दर्जनौँ  बस्ती जोखिममा परेका छन् ।

कोहलपुर नगरपालिका–११, १०, ८ र ७, नेपालगन्ज उपमहानगरपालिका–२० तथा डुडुवा गाउँपालिका–५, ४, ३, २ र १ मा डुडुवा खोलाले खेतीयोग्य जमिन कटान तीव्र पार्दै बस्तीतिर सोझिएपछि स्थानीयवासी घरबास जोगाउने चिन्तामा छन् ।

डुडुवा खोलाको कटानका कारण डुडुवा–१ होलियास्थित कधैपुरुवा गाउँका १० परिवार विस्थापित भएका छन् । डुडुवा खोलाले होलिया क्षेत्रमा करिब एक दर्जन ठाउँमा कटान गरिसकेको छ । खोलाबाट कटान भएका बस्तीलाई सुरक्षित गराउन विशेष कार्यक्रम ल्याउन स्थानीय जनप्रतिनिधिले माग गरेका छन् ।

गाउँपालिकाले आफूसँग भएको बजेटबाट बाँस र बोरा राखेर तटबन्ध बनाए पनि त्यसले रोक्न नसकेपछि खोला बस्तीमा पसेको हो । डुडुवा खोलाको तीव्र कटानका कारण आसपासका गाउँहरू उच्च जोखिममा परेका छन् ।

डुडुवा–४ का वडाध्यक्ष सगीर खाँले कटानका कारण वडाभित्रका बस्ती उच्च जोखिममा परेको जनाउँदै नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिएको बताए । बाँके क्षेत्र नं २ का सङ्घीय सांसद डा धवलशम्शेर राणाले डुडुवाको कटान रोकथामका लागि तटबन्ध निर्माण गर्न सरकारसँग निरन्तर पहल गरे पनि बजेट विनियोजन हुन नसकेको बताए ।

लुम्बिनी प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले डुडुवा खोला नियन्त्रणका लागि गुरुयोजना बनाएको भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा गुरुयोजना कार्यान्वयन हुन सकेको छैन ।

लुम्बिनी प्रदेशसभा २ (१) का सदस्य तथा प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादवले डुडुवा कटान नियन्त्रणका लागि तत्काल तटबन्धनको आवश्यक भएको बताए । बाँकेको डुबान र कटान रोकथामका लागि मुख्यमन्त्री पनि सकारात्मक देखिएकाले तटबन्धका लागि पहल भइरहेको उनको भनाइ छ ।

स्रोत : रासस
प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ०७:४०

लोकप्रिय