सूचनाको शक्ति - The Power Of Information

        

यौन स्वास्थ्य

सेक्स थेरापी कसका लागि र किन ?

मनोरोगी वा चिकित्सकबीच जस्तो सम्बन्ध हुन्छ, त्यस्तै सम्बन्ध यौन समस्या भएका व्यक्ति र सेक्स थेरापिस्टबीच हुन्छ ।

सेक्स वा यौन प्राकृतिक कुरा हो । यो प्रकृतिमा नै निर्माण भएको विपरीत लिंगीलाई परस्परमा आकर्षित गर्ने माध्यम हो । यही यौन सम्बन्धी समस्यामा गरिने उपचार नै सेक्स थेरापी हो । सेक्स थेरापी भनेर झ्वाट्ट सुन्दा धेरैले यो यौन सम्पर्कमार्फत गरिने उपचार होला भन्ने बुझ्छन् जब कि सेक्स थेरापी त्यस्तो होइन, त्यस्तो सोचाइभन्दा धेरै भिन्न छ सेक्स थेरापी ।

त्यसो भए सेक्स थेरापी भनेको के त ? सेक्स थेरापी विभिन्न किसिमका यौन समस्याको समाधान गर्ने मनोवैज्ञानिक पद्धति हो । यौन समस्यामा परेका व्यक्तिलाई त्यसको कारण एवं समाधानका उपायका बारेमा दिइने जानकारी, व्यावहारिक ज्ञान तथा तौरतरिका नै सेक्सथेरापी हो । सेक्स थेरापी यौन रोगमा होइन कि यौन समस्यामा परेका व्यक्तिहरूका लागि प्रयोग गरिन्छ ।

यस्तो थेरापी विशेषगरी यौन मनोविद्, सेक्स थेरापिस्ट, यौन परामर्शदाता एवं मनोविद्ले दिने गर्दछन् । यस थेरापीमा समस्यामा परेका व्यक्ति र सेक्स थेरापिस्टबीच कुनै पनि किसिमको शारीरिक सम्बन्ध हुँदैन । मनोरोगी वा चिकित्सकबीच जस्तो सम्बन्ध हुन्छ, त्यस्तै सम्बन्ध यौन समस्या भएका व्यक्ति र सेक्स थेरापिस्टबीच हुन्छ ।

मनोवैज्ञानिक कारणले हुने यौन समस्या जसलाई साइको सेक्सुअल डिसअर्डर भनिन्छ, त्यस्तो वा त्यस किसिमका समस्याहरूमा सेक्स थेरापी गरिन्छ । जस्तो उच्च यौन चाहना (जसलाई सेक्स एडिक्सन पनि भनिन्छ), शिघ्र पतन, यौन चाहना कम हुनु वा हुँदै नहुनु, सम्पर्कका बेला अति पीडा हुनु, सम्बन्ध स्थापित गर्न नसक्नु, यौनसम्बन्ध राख्नका लागि अति नै डर लाग्नु, अन्य सेक्स सम्बन्धी (पोर्न सामग्री र मुभी, साइबर सेक्स, फोन–च्याट सेक्स आदि) लत एवं यौन उत्तेजना नै नहुनुजस्ता समस्यामा सेक्स थेरापी उपयोगमा ल्याइन्छ ।

त्यसैगरी समाज र कानुनले निषेध गरेका यौन क्रियाकलाप जस्तो एनिमल सेक्स, सार्वजनिक स्थानमा अनावश्यक अंग प्रदर्शन, सार्वजनिक स्थान वा यातायातमा कुने व्यक्तिसँग लिंग घर्षण गरी यौन आनन्द लिने समस्या, पिडोफेलिया (यौनका लागि बालबालिकाको प्रयोग), महिलाका भित्री वस्त्रहरू चोर्ने, सुँघ्ने, लगाउने आदि गरी यौन आनन्द लिने, मरेको मान्छेसँग यौनसम्पर्क गर्नेजस्ता समस्याहरूको उपचारका लागि सेक्स थेरापीको प्रयोग गरिन्छ ।

कसरी गरिन्छ उपचार ?

सेक्स थेरापी विना कुनै औषधीको प्रयोग, मनोवैज्ञानिक पद्धतिद्वारा गरिने उपचार विधि हो । मनोसामाजिक समस्या, मानसिक रोग एवं मनोवैज्ञानिक समस्याका कारण उब्जने यौन समस्याको उपचारमा सेक्स थेरापी प्रयोगमा ल्याइन्छ । यौन क्रियाकलापमा शरीर मात्र होइन, मनको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

कतिपय अवस्थामा शरीर र यौन अंग सक्षम हुँदाहुँदै पनि मनको कारणले यौन क्रियाकलापमा जटिलता–समस्या आउँछ । कतिपय व्यक्तिलाई आफ्नो यौनांग सानो छ, म श्रीमती वा सेक्स पार्टनरलाई सन्तुष्टि दिन सक्दिन, मेरो स्तनको आकार सानो छ, योनि लुज छ भन्नेजस्ता सोचले बारम्बार सताउने गर्छ । यो पनि एक किसिमको यौन समस्या हो । यस्तो समस्याको उपचारमा सेक्स थेरापीको विकल्प छैन ।

सेक्स थेरापीमा के गरिन्छ ?

  • यौन शिक्षाको बारेमा ज्ञान दिइन्छ किनभने यसको कमीले विभिन्न किसिमका भ्रमहरू सिर्जना हुने गर्दछन् । भ्रमका कारण समस्या उत्पन्न हुन्छ ।
  • यौन आसन, प्राक्क्रीडा आदिको ज्ञान दिइन्छ ।
  • यौनरोग र यौनसमस्या फरक हुन् भन्ने कुरा बुझाइन्छ ।
  • श्रीमान–श्रीमती वा सेक्स पार्टनरबीच आएका शंका, टकराव, अविश्वास आदिका कारणले पनि यौन जोडीमा समस्या आउन सक्छ । यो कुरा थेरापीमार्फत् बुझाउँदै सम्बन्धलाई मजबुत बनाउन सहयोग गरिन्छ ।
  • यौन जीवनको इतिहास केलाइन्छ र समस्या सिर्जना हुनुको कारण पत्ता लगाइन्छ ।
  • यसमा यौन क्षमता बढाउने व्यायाम, कसरत, यौनसम्पर्कपूर्वको यौनव्यवहार, सम्बन्ध विस्तार, तनाव व्यवस्थापन, खानपान, वातावरण, समय आदिका विषयमा सेक्स थेरापिस्टले व्यावहारिक सल्लाह दिन्छ ।
  • यौनका विषयमा गलत बुझाइ (हस्तमैथुन हानिकारक हुन्छ, स्वप्नदोष रोग हो जस्ता बुझाइ) का विषयमा सत्यतथ्य जानकारी गराइन्छ ।
  • समझदारी वृद्धि कसरी गर्ने भन्ने कुरा सिकाउँदै यौनजीवनमा ताजगी भर्न एवं नयाँपन थप्न मद्दत गरिन्छ ।
  • प्राकृतिक एवं अप्राकृतिक यौन जीवनका विषयमा जानकारी प्रदान गरिन्छ ।

तथ्यांकले के भन्छ ?

एक अनुसन्धानले देखाए अनुसार विश्वभर ४३ प्रतिशत महिला एवं ३१ प्रतिशत पुरुषलाई उनीहरूको जीवनकालमा सेक्स थेरापी आवश्यक पर्छ ।

सेक्स थेरापीको उद्देश्य एवं प्रभावकारिता

  • सेक्स थेरापीले यौन जीवन राम्रो बनाउन मद्दत गर्छ ।
  • श्रीमान–श्रीमती वा यौन जोडीबीच शारीरिक रूपमा एकअर्काप्रति आकर्षण बढाउँछ ।
  • यो एक प्रकारको मनोचिकित्सा हो ।
  • तनाव, उच्च रक्तचाप, हृदयाघात आदिजस्ता स्वास्थ्य समस्याको उपचारमा स्वस्थकर यौन सम्बन्धले ठूलो मद्दत गर्छ ।
  • विवाहेतर सम्बन्ध, मल्टी पार्टनर, बलात्कार, यौन शोषणजस्ता सामाजिक समस्या कम गर्न सघाउँछ ।
  • यौनसुख प्राप्त नहुँदा उत्पन्न हुने चिडचिडापन, झर्को लाग्ने, रिस उठ्ने, टाउको दुख्ने, आत्मविश्वासमा कमी आउने, हीनताबोध उत्पन्न हुनेजस्ता समस्या कम गर्न मद्दत गर्छ ।
  • यौन जीवन सुखद बनाउन, यौन जीवनमा सन्तुष्टि प्राप्त गर्न, चरम यौन आनन्द हासिल गर्न नसकिरहेको अवस्थामा यो थेरापीले निकै सहयोग गर्छ ।

निष्कर्ष

यौन समस्या हुनुका पछाडि कुनै पनि शारीरिक कारण नभेटिएको अवस्थामा एक मात्र विकल्प नै सेक्स थेरापी हो । सेक्स थेरापी मानसिक एवं मनोवैज्ञानिक उपचार पद्धति हो । यसमा मनोपरामर्श विधिद्वारा समस्यामा परेको व्यक्तिको यौन समस्याको समाधान गर्ने प्रयास गरिन्छ ।

यौन-सेक्सको सम्बन्ध सीधै मस्तिष्कसँग जोडिएको हुन्छ । धेरैजस्तो यौनसमस्या मनमस्तिष्कमा उब्जिएको समस्याका कारणले हुने गर्दछ । तसर्थ यस्ता समस्याको प्रभावकारी उपचार भनेकै सेक्स थेरापी हो । (मार्क नेपाल-मनोसेवा केन्द्रका मनोविद् गोपाल ढकालसँगको कुराकानीमा आधारित ।)

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १२:०७

लोकप्रिय