सूचनाको शक्ति - The Power Of Information

        

पश्चिम सुर्खेतवासी खुसी

२९ बर्षपछि सडक स्तरोन्नति, नागरिकमा खुसीयाली

सडक सञ्जालले आम मानिसलाई करेसाबारीमा फलेका तरकारी होस् या खेतबारीमा फलेको अन्न, बजार पुर्याउन सहज बनाउनेछ ।

पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ बर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतबासीलाई निकै सास्ती हुन्थ्यो । उक्त बाटोमा यात्रा गर्ने बालखा केटाकेटी च्यापेर गन्तव्यमा पुग्नै बिजोग हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ।

जुनसुकै निर्वाचनका बेला सुर्खेत पश्चिमका नागरिकको लाइफलाइनका रुपमा रहेको सडक खण्डलाई पक्की बनाउने चुनावी नारा बन्थ्यो । तर चुनाव सकिएपछि कहिल्यै टालो नफेरेको उक्त सडक खण्ड २९ बर्षपछि स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतबासी नागरिकमा खुसीयाली छाएको छ ।

ट्रयाक खुलेको २९ बर्षपछि सडक स्तरोन्नतिले गति लिदाँ पश्चिम सुर्खेतवासी खुसी भएका छन् । बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ बर्षपछि धमाधम स्तरोन्नति हुन थालेपछि यहाँका स्थानीय अब यात्राको सकस अन्त्य हुने आशामा छन् । ट्रयाक खुलेको तीन दशकसम्म सडक स्तरोन्नति र खोलामा पुल नबन्दा यात्रुहरूले सास्ती भोग्दै आइरहेका छन् ।

चौकुने गाउँपालिका–२ का ६५ वर्षीय मानबहादुर बडुवाल सडक सुधार हुँदा निकै खुशी छन् । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दुःखका दिन सकिने उनको आश छ । ‘यहाँका नागरिक बिग्रँदो अवस्थाका कारण वर्षात् अगावै घरायसी सामानको जोहो मिलाउथे । सडक पक्की बनेपछि त्यो त्यो अवस्था सकिनेछ,’ उनले भने ।

सडकको स्तरोन्नतिले गाउँको जीवन सहज बनाउने उनको विश्वास छ । ‘सडकको बिग्रँदो अवस्थाका कारण गाउँमा सुत्केरी हुने महिला र गम्भीर बिरामीलाई अस्पताल पु¥याउन निकै धौधौ हुने गरेको थियो,’ विगत सम्झँदै बडुवालले भने । २०५१ सालमा ट्रयाक खोलिएको सडकको लामो समयसम्म स्तरोन्नति नहुँदा पश्चिम सुर्खेत आउजाउ गर्न निकै सकस छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरी हाल तिब्र गतिले काम भइरहेको छ । तीन खण्डमध्ये बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्डको निर्माण सम्झौता भइ तिब्र गतिले काम भइरहेको छ भने खम्बागाडे–विद्यापुर सडक खण्डको काम सुरु हुदैछ ।

राजमार्गको तीन वटा सडक खण्डमध्ये दुई वटा खण्डमा मदन भण्डारी राजमार्गले र एक खण्डमा कर्णली प्रदेश सरकारले काम गर्दैछ । बाँकी खण्ड बल्देदेखि लगामसम्मको आइइई स्वीकृत भइसकेको छ भने लगामदेखि कर्णाली सडक खण्डको आइइई स्वीकृतको चरणमा छ । यी सडक खण्ड निर्माणमा जग्गाको मुआब्जा र रुख कटान आदेश मुख्य समस्या बनेका थिए ।

तर समस्या समाधानका लागि प्रक्रिया अघि बढेकाले अब सहज हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय, सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले बताउँछन् । उनका अनुसार सडक निर्माणमा पश्चिम सुर्खेतवासीदेखि जनप्रतिनिधिहरुको समेत साथ रहेकाले अब सम्झौता मितिभित्रै सडक निर्माण हुनेछन् ।

जग्गा मुअब्जाको लागि घर टहराको लगत लिने काम भइरहेको उनले बताए । हाल तीन वटै सडक खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) लगायतका काम सम्पन्न भइसकेका छन् । मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले नेपालको पूर्वदेखि पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

बड्डीचौर–खम्बागाडे खण्ड

मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौरदेखि खम्बागाडेसम्म सडक खण्डको लम्बाई १३ किलो मिटर छ । हाल यो सडक खण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्ट लगायतका काम भइरहेको छ । यसै खण्डमा तीन वटा मोटरेबल पुल निर्माण सम्झौता भइ अघि बढेका छन् ।

पुनःनिर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र छ । तर समयमा रूख कटान आदेश नआउदाँ काममा ढिलाइ हुने गरेको छ । यो सडक खण्ड निर्माणका लागि कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ठेक्का व्यवस्थापन गरेको हो ।

यसका लागि कर्णाली प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । यो खण्ड निर्माणका लागि अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

खम्बागाडे–विद्यापुर खण्ड

खम्बागाडेदेखि विद्यापुरसम्मको १० किलोमिटर सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गरिँदैछ भने बहुबर्षिय स्रोत सुनिश्चितता लागि प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग आयोजना प्रमुख आचार्यले बताए । डीपीआर निर्माणपछि आइइइ स्वीकृत भएर रुख कटान आदेशको फाइल अघि बढेको छ ।

विद्यापुर–बल्दे खण्ड

विद्यापुरदेखि बल्देसम्मको सडक खण्ड २२ किलोमिटर छ । यो सडक खण्ड ठेक्का व्यवस्थापन भई हाल निर्माणको काम तिब्र गतिमा भइरहेको छ । यो सडक खण्डको आइइइ स्विकृत भइसकेको छ । यस खण्डमा पर्ने रुखको लगत लिइ कटान आदेशका लागि वन मन्त्रालयमा फाइल पठाएर क्याविनेटबाट स्वीकृत गर्ने तयारी छ ।

२२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा बानियाँ मोतिदान डिएस जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ । काम सुरु भएको दुई महिनाको अवधिमा करिब सात प्रतिशत सम्पन्न भएको छ ।

हाल भइरहेको कामको रप्तारलाई हेर्नेहो भने यो सडक खण्डको काम तोकिएकै मितिमा हुने निश्चित देखिन्छ । राजमार्गको जंगल क्षेत्रमा पर्ने रुखको कटानका लागि पनि प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । यो सडक खण्डमा आधाभन्दा बढी जंगल क्षेत्र पर्छ ।

राजमार्ग क्षेत्रमा पर्ने रुखहरू कटान आदेश नआएकाले हाल सडकको बीचमा रुख छोडेर ट्रयाक खोल्ने र चौडा बनाउने काम भइरहेको छ । नाला, पर्खाल, कल्भर्ट निर्माण तीव्ररुपमा भइरहेका छन् । वन क्षेत्रमा पर्ने ठाउँमा समेत रुख छोडेर काम अघि बढाइएको छ । रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने आयोजना कार्यालयले जनाइएको छ ।

कामको रफ्तारमा अघि बढेको छ : मन्त्री चपाई

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका सडक खण्ड निर्माणको काम देख्दा गुनासो गर्ने ठाउँ नभएको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले बताइन् । सडकको अनुगमन गर्दै मन्त्री चपाईंले सडक सास्तीले आजित बनेका पश्चिमवासीका लागि अब दुःखका दिन धेरै नभएको तर्क गरिन् ।

‘अनेक समस्याबीच पनि कामको रप्तार देख्दा निकै खुसी लाग्यो । अहिले ठेकेदारप्रति गुनासो गर्ने ठाउँ छैन,’ उनले भनिन्, ‘सडक निर्माण समयमै सम्पन्न गर्न सबैले सहयोग गरौं । मैले पनि आफ्नो तवरबाट आवश्यक सबै भुमिका खेल्नेछु ।’ समयमै काम सम्पन्न गर्न र रुख कटानका लागि आवश्यक पहल गर्ने मन्त्री चपाईले आश्वासन दिइन् ।

सडक स्तरोन्नतिपछि आयमा वृद्धि

सडककै कारण अहिले पश्चिम सुर्खेतका किसानले उत्पादन गरेको दूध र तरकारी बजारमा बेच्नका लागि महिलाले पैदल नै बजारसम्म पुगेर बेचेर फर्कनुपर्ने बाध्यता छ । बिहानको झिसमिसेमै पैदल स्थानीय बजारमा दूध र तरकारी बेच्न जाने महिला साँझ मात्रै घर फर्किनुपर्ने बाध्यता छ ।

सडक स्तरोन्नति भएपछि उत्पादित वस्तु बेचेर ग्रामीण क्षेत्रका किसानहरुको आयआर्जनमा वृद्धि हुने चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिक (बिवश)ले बताए । उनले सडक स्तरोन्नतिपछि गाउँमै रोजगारीका अवसर सिर्जना हुने र किसानहरुको उत्पादनले बजार पाउने उनले विश्वाश व्यक्त गर्दै यसले ग्रामीण क्षेत्रका नागरिकबको आयमा वृद्धि हुने बताए ।

‘२९ वर्षसम्म सडक स्तरोन्नतिमा कसैको ध्यान गएन । बर्खाको समयमा हिलो र हिउँदमा धुलोले आजित भएर कति स्थानीयले त बसाइँसराइ गरेर अन्यत्रै गइसके । यस क्षेत्रबाट धेरै जना सांसद भने मन्त्री बने तर यति बाटो बनाउन सकेनन् । अहिले सबैको पहलमा स्तरोन्नतिको काम अघि बढेको छ,’ गाउँपालिकाका अध्यक्ष बिकले भने ।

अध्यक्ष बिकका अनुसार सडक स्तरोन्नतिपछि व्यावसायिक रूपमा किसानहरुले राम्रो आम्दानी लिनेछन् । उनले भने, ‘ढुवानीका साधन पनि बारीबारीमै पुग्नेछन् । कुहिएर जाने तरकारी बजारमा पुग्नेछ । कृषकले आफ्ना बस्तु सजिलै बजार पुर्याउने अवस्था आउनेछ । किसानको उत्पादन गाउँमै राम्रो मूल्यमा बिक्री हुनेछ ।’

सडक सञ्जालले आम मानिसलाई करेसाबारीमा फलेका तरकारी होस् या खेतबारीमा फलेको अन्न, बजार पुर्याउन सहज बनाउनेछ । यसबाट खेतबारी बाँझो नरहने र किसानको गर्जो पनि टर्ने गरेको अध्यक्ष बिकको भनाइ छ । उनले भने, ‘ग्रामीण क्षेत्रका किसान व्यावसायिक बन्नेछन् भने उनीहरूको आर्थिक हैसियत पनि बलियो बन्नेछ ।’

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ११:१८

लोकप्रिय