सूचनाको शक्ति - The Power Of Information

        

आज बुवाको मुख हेर्ने दिन

‘अर्को जन्ममा हजुरकै छोरी हुन पाउँ’

संसारभरीका हरेक बुवाआमा निरोगी बनुन्, सुस्वास्थ्य र दिर्घायुको कामना ।

आज भाद्र कृष्ण पक्ष औशी अर्थात् गोकर्ण औशी, बुवाको मुख हेर्ने दिन ।
सम्पूर्ण बुवाहरुप्रति ढोग, नमस्कार, धेरै धेरै माया ।।

आजको दिन मात्र होइन प्रत्येक दिन बुवा आमासँगै हुन पाउ । उहाँहरुको माया आशीर्वाद सधैं पाइरहुँ । त्याग र प्रेमका प्रतिमूर्तिका रुपमा वुवा आमालाई मानिन्छ । हरेक सन्तान र आमा बुवाबीचको सम्बन्ध नङ र मासुझैँ मानिन्छ । हरेक सन्तानले आफ्ना अभिभावकसँगै रहन हरेक परिस्थितिमा साथ दिन चाहेका हुन्छन् । तर विभिन्न कारणले भौतिक रुपमा टाढा, सन्तानले पनि आफ्ना अभिभावकप्रतिको माया, ममता र कर्तव्य कहिल्यै भुल्नुहुँदैन ।

जीवनभर हजुरहरुको सेवा गर्न पाउँ आजको दिनमात्र होइन सदा हजुरहरुसँगै रहन पाउ । आजको दिनमा हरेक सन्तानले यहि भनिरहेका छन् । हरेक बुवा आमाले आफ्ना सन्तानका लागि धेरै दुख गरिरहनु भएको हुन्छ । आफुले खाइनखाइ सन्तानको खुशी आफ्नो खुशी सम्झेर रमाइरहनु भएको हुन्छ । संसारभरिको खुशी र सुख आफ्ना सन्तानलाई प्राप्त होस् भन्ने हरेक अभिभावकको चाहना हुन्छ । बुवाआमा हजुरहरुप्रति सधैं सम्मान, प्रेम, भक्तिभाव रहिरहनेछ । त्यसैले त भनिएको होला, ‘आमा धर्ती हुन् बुवा आकाश’ हुन् ।

धर्ती र आकाश बिना सायदै कोही प्राणी जिवित छैन । आफ्ना सन्तानका लागि पुरै संसारै दिन तयार बुवा आमाको माया र प्रेमप्रति सधैं कृतज्ञ छु । हरेक बुवाआमाको लागि आफ्ना सन्तान अमुल्य छन् । जति नै ठुलो भए पनि आफ्नो सन्तानलाई सधैं बच्चा नै सोचिरहने बुवाआमाको जस्तो निस्वार्थ माया अरु कसैले दिँदैन । जीवनको राम्रो, नराम्रो हरेक परिस्थितिमा साथ दिने भगवानरुपी बुवा आमाप्रति सधैं नतमस्तक छु । जीवनमा केही गर्न सके पनि नसके पनि हरेक बुवाआमा आफ्ना सन्तानलाई सधैं सच्चा माया प्रेम गरिरहन्छन् ।

यतिधेरै माया प्रेम दिने बुवाआमाको मन दुखाउन कहिले नपरोस् हरेक सन्तानको चाहना पनि यहि हो । जब म बुझ्ने भए हाम्रो घरमा एउटा रेडियो, बहिनी, आमा र म हुन्थ्यौं । तत्कालिन माओवादी द्वन्द्वका बेला देशमा संकटकाल जहिले मारकाटका समाचारबाहेक केही नहुने । आमाले जहिले रेडियोमा समाचार सुनेर बस्नुहुन्थ्यो । नेपाली सेनामा कार्यरत मेरो बुवा कुन जिल्लामा हुनुहुन्छ, त्यहाँको समाचार आउँदा मनै सिरिङ हुने गर्दथ्यो । जब म सानी थिए । यो ठाउँको भिडन्तमा यति जनाको मृत्यु भयो, रेडियोमा जहिले समाचार सुन्दा टेलिभिजनमा समाचार हेर्दै गर्दाको त्यो दिन सम्झिदा अहिले पनि सारै डर लागेर आउँछ ।

माओवादी र सरकार पक्षको भिडन्तमा जो जतिको मृत्यु भयो अतुलनीय क्षति भयो । यस्तो खबरले त्यति बेलाको बाल मस्तिष्कमा एकदम नराम्रो असर पर्दोरहेछ । बिहानै उठेर भगवान मेरो बुवालाई केही नहोस् भन्दै पुजा गर्थे । भगवानको अगाडि धेरै पटक आँसु झार्ने गर्थे म । स्कुल जाँदा आर्मी पुलिसको सन्तानलाई पक्राउ गरेर लान्छ रे भनेको सुन्दा सारै डर मान्दै स्कुल जान्थे । गाउँमा कोही नयाँ मान्छे आए पनि बोल्न डर लाग्ने म मेरो आमासँग पनि खासै बोल्दिनथे रे । आमाले सधैं समाचार सुनेर बस्ने सायद आमाको साथी नै रेडियो थियो होला ।

चिट्ठी पत्रको त्यो जमानामा बुवाको चिट्ठी आउदा सारै खुशी हुन्थे म । कहिलेकाँही बुवाले आमालाई छुट्टै अनि मलाई पनि छुट्टै पैसा पठाइदिनुहुन्थ्यो । त्यो दिन सम्झँदा अहिले पनि मन सारै खुशी भएर आउँछ । हुन त बुवा आमाको मायामा तुलना त गर्न मिल्दैन, तर म सानोमा बुवालाई सारै पछ्याउँदै हिँड्थे रे, सायद घरको पहिलो सन्तान भएर पनि होला सबैकी प्यारी, अझ विषेशगरी बुवाकी प्यारी थिए म । बुवा घरछुट्टिमा आएर जादा सधैं आशु पुछदै जानुहुन्थ्यो रे । बुवाकी प्यारी छोरी होस् त आमाले मलाई भन्ने गर्नुहुन्छ । संकटकालको त्यो समयमा आफ्नो ज्यानको बाजी लगाएर देश र जनताको लागि लडिरहनुभो ।

विषेशगरी हामी सन्तानको रोजीरोटीको लागि हाम्रो आवश्यकता पुरा गर्नको लागि आफ्नो ज्यान दाउमा राखेर अघि बढ्नुभो । हजुरजस्तो साहसी बाबाको छोरी हुन पाउदा सारै गर्व महसुस हुन्छ । हजुरको पाखुरीमा लडाइँमा लागेको गोलीको छर्राको दाग अझै छ । धेरैपटक जागिर छोडेर घर आउने सोच भए पनि कहिले हार खानु भएन अनि हामी सन्तानको लागि लडिरहनुभयो । बुवा हजुरको यो दुख, साहसलाई उच्च नमन गर्न चाहन्छु । हरेक सन्तान हरेक बाबा आमाका लागि अमुल्य छन् ।

चाहे राम्रो बनेर सहि बाटोमा लागेको होस् चाहे बाटो बिराएर अल्मलिएको होस्, शारीरिक र मानसीक रुपमा सक्षम होस् वा असक्षम होस् बाबा आमाले जस्तो निस्वार्थ माया अरु कसले गर्छ र । त्यसैले त जिउँदो भगवान भनेर आमा बुवालाई भनिएको हो । उमेरले नेटो काट्दै गर्दा प्रत्येक दिन सधैं नयाँ जोश जाँगर छाइरहोस् । संसारभरीका हरेक बुवाआमा निरोगी बनुन्, सुस्वास्थ्य र दिर्घायुको कामना । असल सन्तान बन्न सकु । भौतिक रुपमा टाढा भए पनि मनभरिको माया । यदि अर्को जन्म पाएछु भने हजुरकै छोरी हुन पाउँ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार ०७:२२

लोकप्रिय