सूचनाको शक्ति - The Power Of Information

        

एक बर्षमा मिरुनाको फिल्मको कमाई ४० करोड

नायिका मिरुना मगरले फिल्म ‘लालपूर्जा’बाट करिअरको सुरुवात गरिन् । यो फिल्मले बक्स अफिसमा पानी पनि भन्न नपाएपछि उनको करिअर के होला भन्ने प्रश्न उठ्यो । यसपछि, उनले फिल्म ‘रोज’मा काम गरिन् ।

नायक प्रदीप खड्कासँग काम गरेपछि त उनको करिअर उभो लाग्छ भन्ने धेरैको आशा थियो । तर, यो फिल्म नचलेपछि फेरि मिरुनालाई समस्या भयो । यसपछि भने मिरुनाले ‘कबड्डी ४’मा काम गरेपछि उनको करिअर रातारात चम्किएको छ ।

मिरुना मगर फिल्म क्षेत्रको डिमाण्डेड नायिका बनेकी छिन् । उनले अभिनय गरेको यो फिल्मले गतबर्ष २२ करोड माथिको ग्रस कलेक्शन गर्यो । फिल्म सुपरहिट हुँदा मिरुनाको हातमा पनि फिल्म परिरहेको छ । यो बर्ष फेरि मिरुनाका लागि लक लाग्यो ।

उनको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ले बक्स अफिसमा १८ करोड हारहारीको व्यापार गरेको छ । यो फिल्म पनि बक्स अफिसमा ब्लकबस्टर भएपछि उनको माग ह्वात्तै बढेको छ । एक बर्षको अन्तरमै मिरुनाका फिल्मले ४० करोड ग्रस कलेक्शन गरिसकेका छन् ।

भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नांगो गाउँ’ले पनि सुखद व्यापार गर्ने अड्कल अहिले बाट नै सुरु भइसकेको छ । मिरुनाको अभिनयलाई दर्शकले रुचाएका छन् । अहिले सामाजिक संजालमा पनि मिरुनाको विषयमा सकारात्मक प्रतिक्रिया खुबै देख्न सकिन्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १६:२५