सूचनाको शक्ति - The Power Of Information

        

‘छक्कापञ्जा ४’ : तीन दिनमा साढे तीन करोड

लामो समयदेखि सुक्खा रहेको नेपाली बक्स अफिसमा हरियाली छाएको छ । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’ले तीन दिनमै साढे तीन करोडभन्दा माथि कलेक्सन गरेको निर्मातासमेत रहेका दीपकराज गिरीले बताए ।

फिल्मले प्रदर्शनको पहिलो दिनबाटै आक्रामक व्यापार गरिरहेको छ । खासै प्रचार नगरी प्रदर्शन गरिएको फिल्मको दर्शक प्रतिक्रिया बुझ्न दीपक–दीपाको टिम उपत्यकाका विभिन्न हलमा गइरहेको छ । आफू पुगेका प्रायः हलमा हाउसफुल दर्शकसहित फिल्म प्रदर्शन भइरहेको दीपकले बताएका छन् ।

फिल्मको सोमबारको बुकिङ पनि राम्रो छ । सोमबार र मंगलबार फागू पर्व तथा नारी दिवसको सरकारी बिदासमेत परेकाले फिल्मको व्यापार बढ्ने अनुमान गरिएको छ । मल्टिप्लेक्स र सिंगल थिएटर दुवैबाट फिल्म ‘छक्कापञ्जा ४’ देशभरका २०० पर्दामा प्रदर्शन भइरहेको छ ।

यो फिल्म हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुँवर, राज आचार्य लगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १२:५५