कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका सुर्केमेलाका किसानको जीवनशैलीसमेत फेरिएको छ । सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन् ।
कृषि मजदुरको अभाव भएपछि उनले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी हुन् । अहिले उनको बगैँचामा रहेका २५० बोट सुन्तलाले वार्षिक सात लाख रुपैयाँ आम्दानी दिन थालेका छन् । खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उनको अनुभव छ । ‘सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा सात लाख रुपैयाँ आम्दानी दिन थालेको छ,’ उनले भनिन् ।
छोराछोरी विदेश गए पनि उनलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ । सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै लगेकी छन् । गत वर्ष एक लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेकी उनले यस वर्ष तीन लाख रुपैयाँ बराबरको बिक्री हुने अनुमान गरेकी छन् । ‘सपालि फल दिने बोट थपिएका छन् । उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,’ उनले भनिन्, ‘घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ ।’
सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन्, ४६ वर्षीय डिलबहादुर केसी । उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेका थिए । त्यसबेला आफन्त र छिमेकीले उनको निर्णयको विरोध गरेका थिए । ‘धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,’ उनले विगत सम्झँदै भने, ‘अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन् ।’
२० रोपनी खेतबारीमा ४५० बोट सुन्तला लगाएका केसीले यस वर्ष १५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा पाँच वर्ष काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गरेका छन् । केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन् । ४०० बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए ।
वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको भनाइ छ । सुन्तलाखेतीबाट भएको आम्दानीले कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन् भने छोराछोरीलाई राम्रा विद्यालय तथा कलेजमा पढाएका छन् । सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ ।
यहाँ उत्पादन हुने रसिलो र स्वादिलो सुन्तला काठमाडौं, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन् । म्याग्दीमा सबैभन्दा पहिले सुर्केमेलामा सुन्तला टिप्ने गरिन्छ । सुन्तला छिटो पाक्ने, आकर्षक रङ र राम्रो स्वाद आउने भएकाले यहाँका बगैँचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन् । सडक यातायातको सुविधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन् ।
सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन् । बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान्)का अनुसार किसानलाई अनुदानमा बिरुवा, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ । बालमखोला सिँचाइ योजना निर्माण भएपछि किसानलाई थप सहज भएको छ ।
‘सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,’ उनले भने, ‘उत्पादन भएको सुन्तला बजारमा पुर्याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो ।’ दु:खेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
तीन वर्षमा पाँच करोड रुपैयाँ खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए । सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संघीय सरकारसमक्ष प्रस्ताव पेस गरिएको पनि उनले जानकारी दिए । परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ ।
बाँझिने अवस्थामा पुगेका खेतबारी सुन्तलाका हराभरा बगैँचामा परिणत भएका छन् । किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको छ । यद्यपि, युवाहरूको वैदेशिक रोजगारीप्रति बढ्दो आकर्षणका कारण सिर्जना भएको कृषि मजदुरको अभाव यहाँका सुन्तला किसानका लागि चुनौती बनेको छ ।
