२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै शाहीले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारीलाई पार्टीमा नेतृत्वको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् । ‘पुस्तान्तरणसँगै रूपान्तरण र रूपान्तरणसँगै वैचारिक पुनर्जागरणको अभियान’ लिएर आफू अघि बढेको बताउँदै शाहीले आन्तरिक छलफलपछि उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।

२१ फागुन २०८२ मा सम्पन्न निर्वाचनमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित हुने एकमात्र सांसद बनेका शाही पार्टी संसदीय दलका नेतासमेत हुन् । आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा राप्रपाको आठौँ महाधिवेशन हुँदैछ । शाहीले महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण हुन नसके पार्टीले थप क्षति बेहोर्नुपर्ने बताएका छन् ।

उनले विगतमा विचार नमिल्ने दलसँग चुनावी तालमेल गर्नु र विचार नमिल्ने पार्टी नेतृत्वको सरकारमा सहभागी हुनु पार्टीका गल्ती भएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता गल्ती दोहोर्‍याउन नहुने धारणा राखेका छन् ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार