स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी बाँके जिल्लामा मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनको प्रक्रिया सुरु गरिएको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकन समिति बाँकेले दिएको जानकारी अनुसार मतदान केन्द्र र मतदान स्थल पुनरवलोकनका लागि जिल्लामा रहेका मतदान स्थल र मतदान केन्द्रको अवस्थाबारे जानकारी गराउन अनुरोध गर्दै स्थानीय तहका वडा कार्यालयहरूमा पत्राचार गर्ने कार्य सुरु गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकन समितिका अध्यक्ष दिलकुमार तामाङको अध्यक्षतामा बसेको समितिको बैठकले मतदान केन्द्र र मतदान स्थल पुनरवलोकन गर्ने कार्य सुरु गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख युवराज पन्तले जानकारी दिए ।
उनका अनुसार वडास्तरमा पुनरवलोकनको काम सम्पन्न भएपछि जिल्ला तहमा सो प्रक्रिया अघि बढाइने छ । वडास्तरीय पुनरवलोकन समितिले सिफारिस गरेका मतदान स्थल तथा मतदान केन्द्रलाई जिल्लास्तरीय समितिले अन्तिम टुङ्गो लगाउने निर्वाचन कार्यालयका निमित्त प्रमुख पन्तले बताए ।
उनका अनुसार बैठकमा जिल्ला निर्वाचन कार्यालयले जिल्लामा हाल कायम रहेका मतदान स्थल तथा मतदान केन्द्रको अवस्थाबारे विस्तृत रूपमा प्रस्तुतीकरण गरेको थियो भने सदस्यहरूले त्यसबारे छलफल गरेका थिए । बाँकेमा हाल १३९ मतदान स्थल र ४०० मतदान केन्द्र छन् ।
