२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

पर्यटकको रोजाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित हुन थालेको छ । पर्यटकका लागि निकुञ्ज खुला गरिएको छोटो अवधिमै उल्लेख्य सङ्ख्यामा पर्यटकले भ्रमण गर्न थालेपछि शुक्लाफाँटा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्क अनुसार असोज २८ देखि मङ्सिर १ गतेसम्मको अवधिमा एक हजार ९५२ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । भ्रमण गर्नेमा नेपालीसँगै सार्क राष्ट्र तथा सार्क राष्ट्रबाहिरका विदेशी पर्यटकसमेत रहेका छन् । निकुञ्जको तथ्याङ्क अनुसार उक्त अवधिमा एक हजार ८६० जना नेपाली पर्यटकले भ्रमण गरेका छन् ।

त्यस्तै सार्क राष्ट्रका ७४ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । सार्क राष्ट्रबाहेकका १८ जना विदेशी पर्यटकले पनि निकुञ्जको भ्रमण गरेका छन् । पर्यटकका लागि २५ जना गाइड र सफारी गाडीसमेत उपलब्ध छन् । निकुञ्ज घुम्न मनमोहक प्राकृतिक दृश्यले रमाइलो हुने गरेको एक पर्यटकले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले पर्यटकका लागि खुला गरिएको छोटो अवधिमै भ्रमण गर्नेको सङ्ख्या बढ्न थालेको बताए ।

उनका अनुसार पहुँच र विमानस्थलबाट निकुञ्जसम्मको दुरीका कारण विदेशी पर्यटकका लागि यात्रा खर्च बढी पर्ने भएकाले अपेक्षाकृत रूपमा बाह्य पर्यटकको सङ्ख्या बढ्न सकेको छैन । भारतीय सीमावर्ती वनबासा नाकाबाट पर्यटक आउने गरे पनि सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अन्य निकुञ्जसँग समन्वय भइरहेको उनले बताए ।

सार्क राष्ट्रका पर्यटकको आगमन बढाउन नेचर गाइड, होटेल व्यवसायी, पर्यटन बोर्ड लगायत सरोकारवालासँग चरणबद्ध रूपमा छलफल तथा अन्तक्र्रिया भइरहेको उनको भनाइ छ । पर्यटकका लागि यो राम्रो सिजन भएकाले बर्खा नलागेसम्म खुला रहने छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताका दृष्टिले महत्वपूर्ण संरक्षित क्षेत्र हो ।

यहाँ पाटेबाघ, चितुवा, हात्ती, एकसिङे गैँडा, सुन गोहोरो, राजधनेश, सारस लगायत दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन् । नेपालमा पाइने मृगका विभिन्न प्रजातिमध्ये बाह्रसिङ्गा, चित्तल, लगुना, रतुवा र जरायो पनि यहाँका प्रमुख आकर्षण हुन् । निकुञ्जको मुख्य आकर्षणका रूपमा रहेको शुक्लाफाँटा घाँसे मैदान नेपालकै ठुलो प्राकृतिक घाँसे मैदानमध्ये एक हो ।

उक्त मैदानमा दुई हजार एक सयभन्दा बढी बाह्रसिङ्गा रहेका छन् । विश्वमै ठुलो सङ्ख्यामा बाह्रसिङ्गाको झुन्ड एकै स्थानमा देख्न सकिने क्षेत्रका रूपमा शुक्लाफाँटाको विशेष पहिचान छ । त्यसैगरी ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र र हिरापुर फाँट पनि यहाँका प्रमुख आकर्षण हुन् ।

निकुञ्ज तथा आसपासका क्षेत्रमा महाकाली नदी, बाहुनीखोला, चौधर नदी, राधा नदी, स्याली नदीलगायत जलाधार क्षेत्र तथा सोलगौडी, सिकारी, पढाउँ, तारा, बाबा, लालपानी, कुमारी, तिनकुने, लामीताल, बाघपोखरी र सुकेपोखरी लगायत ताल तथा सिमसार क्षेत्र रहेका छन् । जैविक विविधतासँगै प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समेत समृद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन विकासको ठुलो सम्भावना रहेको छ ।

बर्दिया र चितवन राष्ट्रिय निकुञ्जसँग जैविक विविधता तथा पर्यावरणीय महत्वका दृष्टिले तुलना गर्न सकिने भए पनि शुक्लाफाँटामा पर्यटकको आगमन भने तुलनात्मक रूपमा कम छ । विशेषगरी महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल सञ्चालनमा आएपछि पर्यटकलाई कञ्चनपुर पुग्न सहज हुने र निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या थप बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार