२०८३ कात्तिक २३ , सोमबार 9, November 2026, Monday

दैलेखमा बिरामी बोकेको बलेरो दुर्घटना, ६ जना घाइते

दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार कालिकोटबाट सुर्खेततर्फ बिरामीलाई अक्सिजनसहित उपचारका लागि लैजाने क्रममा गाडी दुर्घटनामा परेको हो । गाडी कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडाले चलाएका थिए ।

दुर्घटनामा चालक सिंखडासहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा १८ वर्षीय गंग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने शार्की र २७ वर्षीया कैसी सार्की छन् । कैसी बिरामी हुन् ।

चालक सिंखडाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २३ गते सोमबार