गत भदौमा आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा महत्त्वपूर्ण योगदान पुर्याएको नेपाल प्रहरीको खोजी कुकुर ‘लियो’ सर्वोत्कृष्ट प्रहरी कुकुर घोषित भएको छ ।
नेपालभर परिचालित प्रहरीका विभिन्न केनाइनले गरेका कामको मूल्याङ्कनका आधारमा लियोलाई यस वर्षको सर्वोत्कृष्ट छनोट गरिएको हो । कुकुर तिहारको अवसर पारेर नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित विशेष कार्यक्रममा लियोलाई मेडल प्रदान गरी सम्मान गरिएको छ ।
अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक (डीआइजी) ओम रानाले लियोलाई मेडल प्रदान गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा परिचालित लियोले करिब एक महिनासम्म उद्धार टोलीलाई सहयोग गरेको थियो ।
बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी गर्ने क्रममा लियोले केहीको शव फेला पार्न सहयोग गरेको थियो । त्यस्तै, बाढीले बगाएका मानव शरीरका विभिन्न अंग पहिचान गर्न पनि सफल भएको थियो ।
ल्याब्राडोर जातको लियोले २०७८ सालदेखि नेपाल प्रहरीको खोज तथा उद्धार र अपराध अनुसन्धान सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ । कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिमा समेत प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै लियोलाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।
नेपाल प्रहरीले हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषध पहिचानका साथै प्राकृतिक विपद्का घटनामा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारमा तालिमप्राप्त कुकुर परिचालन गर्दै आएको छ । हाल देशभरका १३ स्थानबाट विभिन्न प्रजातिका १०७ वटा प्रहरी कुकुर अपराध अनुसन्धान तथा खोजी कार्यमा खटिँदै आएका छन् ।

