२०८३ कात्तिक २२ , आइतबार 8, November 2026, Sunday
विचार

सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउन किन ढिलाइ हुँदैछ ?

सामाजिक सञ्जाललाई विकृतिमुक्त, सुरक्षित र मर्यादित बनाउन सबै पक्ष मिलेर अघि बढ्नु आजको अपरिहार्य आवश्यकता हो । सामाजिक सञ्जाललाई अहिलेको जस्तै अनियन्त्रित अवस्थामा छाडिरहने हो भने त्यो देश र समाज दुवैका लागि हितकर हुनेछैन ।
चिरञ्जीवी नेपाल
चिरञ्जीवी नेपाल । काठमाडौं

आजको युग विज्ञान र प्रविधिको युग हो । विज्ञानको चमत्कार, प्रविधिको अभूतपूर्व विकास र भूमण्डलीकरणको प्रक्रियासँगै सम्पूर्ण विश्व एउटै गाउँमा परिणत भएको छ । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जाल मानिसको जीवनको अभिन्न अंग बनिसकेका छन् । अझ भनौँ, मानिसमा यसको लत यसरी बसेको छ कि अब यसबिना बाँच्नै नसक्ने परिस्थिति सिर्जना हुँदै गएको छ । अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, ज्ञानको आदानप्रदान र व्यापार–व्यवसाय प्रवद्र्धनमा सामाजिक सञ्जालका विभिन्न स्वरूपले ठूलो योगदान पुर्‍याएका छन् ।

त्यसैले विज्ञानसँगै ज्ञानलाई पनि सँगसँगै अघि बढाइनुपर्छ । बालकृष्ण समले भनेझैँ, ‘ज्ञान विज्ञानले हात जोड्नु पर्दछ कर्ममा’ भन्ने कुरालाई पनि हामीले मनन गर्नुपर्छ । तर विज्ञान र प्रविधिको यो अभूतपूर्व विकासले सामाजिक विकासमा सकारात्मक योगदान मात्र पुर्‍याएको छैन, गम्भीर प्रकृतिका नकारात्मक असर पनि निम्त्याएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको छाडापन, अमर्यादित अभिव्यक्ति, अशिष्टता, गालीगलौज र व्यक्तिगत स्वतन्त्रताको दुरुपयोगले सीमा नाघ्दै गएको छ ।

सामाजिक सञ्जाल रिस र कुण्ठा पोख्ने माध्यमसमेत बनेको छ । यसले समाजको शान्ति, सुरक्षा र अमनचयनमा समेत गम्भीर असर पार्दै गएको छ । त्यसकारण समयमै सामाजिक सञ्जालको प्रभावकारी नियमन र अनुगमन गर्नु जरुरी भइसकेको छ । सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरुपयोग पनि डरलाग्दो ढंगले बढ्दै गएको छ । युट्युब च्यानल, फेसबुक पेज र टिकटक लाइभमा देखिने केही प्रमुख विकृतिमध्ये सस्तो लोकप्रियता कमाउने होडबाजी प्रमुख छ । अधिकांश डिजिटल सामग्री निर्माताले समाजलाई जोड्नेभन्दा भाँड्ने तथा गुणस्तरीय र सिर्जनात्मक सामग्री प्रस्तुत गर्नुभन्दा कसरी छिटो भाइरल हुने भन्ने कुरालाई प्राथमिकता दिएको देखिन्छ ।

भ्युज, लाइक र सब्सक्राइबर बढाउने नाममा धर्म, जात र समुदायका आधारमा घृणा फैलाउने तथा सामाजिक मूल्य–मान्यता र सामान्य नैतिकतासमेत ख्याल नगरी अमर्यादित सामग्री प्रसारण गर्ने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जाल अरूको व्यक्तिगत जीवनमाथि धावा बोल्ने, बिना प्रमाण आरोप लगाउने, अदालतमा विचाराधीन मुद्दाबारे अनावश्यक टिप्पणी गर्ने, व्यक्तिगत गालीगलौज गर्ने र चरित्र हत्या गर्ने माध्यम बनेको छ । विशेषगरी महिला, कलाकार तथा राजनीतिज्ञलगायतका व्यक्तिहरू यसको सिकार हुने गरेका छन् ।

कतिपय अवस्थामा यस्ता गतिविधिले मानिसलाई आत्महत्यासम्मको अवस्थामा पुर्‍याएको पाइन्छ । युट्युब र अनलाइन मिडियाका नाममा केही व्यक्तिले अमर्यादित प्रश्न सोध्ने, अनुसन्धान भइरहेका विषय तथा गोप्य सूचनालाई सनसनीपूर्ण बनाएर सार्वजनिक गर्ने र समाजमा झुटा अफवाह फैलाउने गरेको पाइन्छ । यसले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ । त्यस्तै, सत्यतथ्य जाँच नगरी भ्रमपूर्ण र अतिरञ्जित सामग्री फैलाउने तथा धार्मिक, जातीय र साम्प्रदायिक सद्भाव खल्बल्याउने गतिविधि पनि बढ्दै गएको छ । यस्ता सामग्रीले समाजमा उत्तेजना र तनाव सिर्जना गर्ने जोखिम बढाएको छ ।

सामाजिक सञ्जालमा देखिएको यो विकृतिले व्यक्तिगत, पारिवारिक र सामाजिक सबै तहमा दूरगामी असर पारिरहेको छ । सामाजिक मूल्य–मान्यता, संस्कृति र शिष्टाचार कमजोर हुँदै गएका छन् । युवापुस्ताले डिजिटल माध्यममा देखिएका गलत अभ्यासलाई आधुनिकता ठानेर अन्धाधुन्ध अनुकरण गर्न थालेका छन् । यसले समाजलाई गलत दिशातर्फ लैजाने खतरा बढाएको छ । अनलाइन बुलिङ, ट्रोलिङ र अवाञ्छित टिप्पणीका कारण धेरै मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको छ । मानसिक तनाव र डिप्रेसनको समस्या बढाउन यस्ता गतिविधिले भूमिका खेलिरहेका छन् । जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्व फैलाउने भ्रामक सामग्रीले राष्ट्रिय एकता र सामाजिक सद्भावमा समेत चुनौती थपेको छ ।

समाधानका लागि अब के गर्ने ?

लोकतन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैलाई पनि समाजमा छाडापन र अराजकता फैलाउने छुट हुनुहुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुनुहुँदैन । निश्चय नै लोकतन्त्रमा स्वतन्त्रता हुन्छ, तर त्यसको अर्थ अराजकता र स्वेच्छाचारिता फैलाउने छुट होइन । त्यसैले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन प्रयोगकर्ताका लागि स्पष्ट र समयसापेक्ष कानुन निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । कानुन निर्माण गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनुहुँदैन, तर व्यक्तिको गोपनीयता, प्रतिष्ठा र सामाजिक सद्भावमा आँच पुर्‍याउने कार्यलाई भने कानुनबमोजिम दण्डनीय बनाइनुपर्छ ।

साइबर ब्युरो र प्रेस काउन्सिल नेपालजस्ता निकायले चालेका कदम मात्र पर्याप्त छैनन् । यसका लागि शक्तिशाली, निष्पक्ष र डिजिटल प्रविधिमैत्री नियमनकारी निकायको आवश्यकता देखिएको छ । यस्तो निकायले सामाजिक सञ्जालमा हुने अवाञ्छित गतिविधिको निरन्तर अनुगमन गर्न सक्नुपर्छ । फेसबुक (मेटा), गुगल (युट्युब) र टिकटकजस्ता ठूला प्रविधि कम्पनीसँग नेपाल सरकारले सहकार्य गर्नुपर्छ । नेपालमा सञ्चालन हुने यस्ता प्लेटफर्मका आधिकारिक सम्पर्क कार्यालय नेपालमै रहने व्यवस्था मिलाउनुपर्छ । सामाजिक सञ्जाल सञ्चालन गर्ने व्यक्तिको पहिचान प्रमाणित हुने व्यवस्था आवश्यक छ । नक्कली परिचयबाट हुने दुरुपयोग नियन्त्रण गर्नुपर्छ । जात, जाति, धर्म र संस्कृतिविरुद्ध घृणा फैलाउने, सामाजिक सद्भाव भड्काउने तथा कानुनविपरीतका गतिविधिमा संलग्नलाई कानुनअनुसार कारबाही गर्नुपर्छ ।

नेपालको कानुनविपरीत रहेका सामग्री हटाउने प्रभावकारी व्यवस्था पनि मिलाइनुपर्छ । विद्यालय तहदेखि नै पाठ्यक्रममा डिजिटल साक्षरतालाई समावेश गर्नुपर्छ । इन्टरनेट र सामाजिक सञ्जालको सही प्रयोग, व्यक्तिगत गोपनीयताको संरक्षण तथा अरूको सम्मान गर्नेजस्ता विषयमा बालबालिका र युवालाई प्रशिक्षित गर्नुपर्छ । पत्रकारिताको नाममा मर्यादाको सीमा नाघ्नेहरूलाई सम्बन्धित संस्थाले जवाफदेही बनाउनुपर्छ । मिडियाकर्मीले पनि आफैँ पत्रकार आचारसंहिताको पालना गर्ने परिपाटी विकास गर्नुपर्छ । अन्त्यमा, एकै सिक्काका दुई पाटाझैँ सामाजिक सञ्जाल प्रविधिको वरदान र अभिशाप दुवै हो । यसको सही प्रयोग भए ज्ञान, विज्ञान र विकासको स्रोत बन्न सक्छ भने दुरुपयोग भए अभिशाप साबित हुन सक्छ ।

यसको अव्यवस्थित र अमर्यादित प्रयोगले हाम्रो समाजको नैतिकता, संस्कृति, भाइचारा र आपसी सद्भावमा नकारात्मक असर पारिरहेको छ । वर्तमान अवस्थालाई हेर्दा सामाजिक सञ्जालमा प्रसारित कतिपय सामग्री अत्यन्तै अमर्यादित र समाजमा भाँडभैलो मच्चाउने खालका छन् । समयमै यसको नियमन र अनुगमन नगरिए यसले अझ विकराल रूप लिन सक्छ । यसका लागि सरकार, नागरिक समाज, प्रविधि कम्पनी र प्रयोगकर्ता सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । सामाजिक सञ्जाललाई विकृतिमुक्त, सुरक्षित र मर्यादित बनाउन सबै पक्ष मिलेर अघि बढ्नु आजको अपरिहार्य आवश्यकता हो । सामाजिक सञ्जाललाई अहिलेको जस्तै अनियन्त्रित अवस्थामा छाडिरहने हो भने त्यो देश र समाज दुवैका लागि हितकर हुनेछैन ।

प्रकाशित मिति : २०८३ कात्तिक २२ गते आइतबार