२०८३ कात्तिक २२ , आइतबार 8, November 2026, Sunday

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाइँदै

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ । कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो ।

हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा दूतका रूपमा लिने धार्मिक विश्वास छ । यमलोकको द्वारमा बस्ने श्याम र सबल नामका दुई कुकुरले यमराजको सन्देशवाहकका रूपमा काम गर्ने धार्मिक मान्यता रहेको छ ।

त्यसैले कुकुर तिहारका दिन कुकुरको पूजा गरी सम्मान गर्ने परम्परा रहिआएको छ । आज बिहानैदेखि घरपालुवा तथा सडकमा रहेका कुकुरलाई नुहाइदिएर टीका र माला लगाइदिने तथा मिठा परिकार खुवाउने गरिन्छ ।

कुकुरलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्दा यमराज प्रसन्न हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । कुकुरलाई सुरक्षा दिने, अपराध अनुसन्धानमा सहयोग गर्ने तथा मानिसको साथीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनावरका रूपमा पनि लिइन्छ ।

विशेषगरी घरको सुरक्षा, खोज तथा उद्धार र सुरक्षाकर्मीका काममा कुकुरको योगदान महत्वपूर्ण मानिन्छ । तिहारका पाँच दिनमध्ये काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका गरी विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार पर्व मनाइन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २२ गते आइतबार