२०८३ कात्तिक २१ , शनिबार 7, November 2026, Saturday

सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन

सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले चारै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए ।

‘चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ,’ सपभाति श्रेष्ठले भने । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन भएको हो ।

न्याय परिषद्ले गत असोज २ मा सर्वोच्चको न्यायाधीशका लागि उनीहरूको नाम सिफारिश गरेको थियो । बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् भने अन्य तीनै जना उच्च अदालतका न्यायाधीश हुन् ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरिनेछ । त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार