२०८३ कात्तिक १५ , शनिबार 31, October 2026, Saturday

नेपालमा कमजोर हुँदै चक्रवातको प्रभाव, भोलिदेखि मौसममा सुधार

देशभर सक्रिय रहेको न्युन चापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि शनिवार दिउँसोदेखि नेपालको मौसममा क्रमिक सुधार आउने भएको छ । केही दिनयता भारी वर्षा गराइरहेको उक्त प्रणालीका कारण जनजीवन प्रभावित बने पनि आगामी २४ घण्टाभित्र मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । विशेषगरी मनाङको ताल मौसम मापन केन्द्रमा १२४.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ भने गण्डकी प्रदेशका पहाडी भू–भागमा भारी वर्षा भएको छ । यद्यपि, लुम्बिनी, सुदूरपश्चिम तथा कोशी र मधेस प्रदेशका पूर्वी भेगमा बिहानैदेखि मौसममा सुधार आउन थालेको छ ।

हाल वागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली रही काठमाडौं, ललितपुर, दोलखा र सङ्खुवासभा आसपासमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीमा बनेको चक्रवातको अवशेषका रूपमा रहेको न्युन चापीय प्रणाली कमजोर भएसँगै आज साँझसम्म प्रभाव निकै कम हुनेछ ।

आगामी २४ घण्टाको प्रक्षेपण अनुसार कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि सुदूरपश्चिम र मधेस प्रदेशका अधिकांश स्थानमा मौसम सामान्य रहनेछ । हिमाली क्षेत्रमा भने केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ । आइतबार र सोमवारतिर मौसम थप सफा रहने र खासै ठूलो मौसमी प्रभाव नदेखिने विभागले जनाएको छ । यद्यपि, कृषि तथा पर्यटन क्षेत्रमा अझै केही प्रभाव पर्न सक्ने भएकाले सर्वसाधारणलाई अद्यावधिक मौसमी सूचनामा रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार