सल्यानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्थ गम्भीर छ । सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ज २३६८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष ४२ की कृष्णी बस्नेत, वर्ष ४५ की सीता विक र वर्ष ४३ का साउने रोका रहेका छन् ।
त्यसैगरी दुर्घटनामा सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष २४ को देवबहादुर विक, वर्ष ५८ की सुशीला चलाउने, वर्ष १३ की राधिका चलाउने र वर्ष २२ का दीपक रोका घाइते भएका छन् । त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ बस्ने वर्ष १५ का कमल बुढाथोकी र वर्ष ७ की बिमला बुढाथोकी भन्ने रुपा बुढाथोकी तथा सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष १० का युवराज परियार पनि घाइते छन् ।
घाइतेहरूमध्ये देवबहादुर विक, कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ । घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ । जीप चालक सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष ३८ का तिलक चलाउनेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।
