२०८३ असोज २२ , बिहीबार 9, October 2026, Friday
सवाल जवाफ

नेपालमा बाढी आउँदा पूर्वसूचना र त्यसपछि गर्नुपर्ने कार्यमा खाडल देखियो

धेरै मानिसले पूर्वसूचना पाएका भए पनि घटनाको आकारबारे उनीहरूले नबुझेका हुन सक्छन् । सामान्य बाढी होला भनेर उनीहरूले ढिलासुस्ती गरेका हुन सक्छन् । भविष्यका पूर्वसूचनाहरूले विपद्को आकार र प्रकार प्रष्ट पार्नुका साथै सुरक्षित रूपमा कहाँ जाने र के के गर्ने भन्ने प्रष्ट पार्नुपर्छ ।
शलिनी कुमारी
शलिनी कुमारी । काठमाडौं
यही भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको बाढीले ध्वस्त बनाएको बस्ती ।

नेपालको रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परि भदौ १६ गते मंगलबार सम्ममा १००० भन्दा बढी व्यक्तिको मृत्यु पुष्टी भएको छ भने ४००० भन्दा बढी अझै हराइरहेका छन् । सुनामी जस्तो देखिने बाढी के कारणले सुरु भएको हो भन्ने विषय वैज्ञानिकहरूले अझै खोजी गरिरहेका छन् ।

अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र यसका साझेदारहरूले गरेको प्रारम्भिक लेखाजोखाले बरफको चट्टान (आइस–रक) फुटेर गएको पहिरोलाई सम्भावित कारणको रूपमा देखाएको थियो । तर त्यसपछि प्राप्त तथ्यले बरफभन्दा धेरै चट्टान रहेको बरफले ढाकेको चट्टानको पहिरो (रक–आइस आभालाञ्च) बाढीको कारण रहेको इसिमोडका विपद् जोखिम न्यूनीकरण सम्बन्धी इन्टर्भेन्शन म्यानेजर सास्वत सन्यालले बताए ।

यो बाढीको एकमात्र कारण जलवायु परिवर्तन हो भनी अहिले नै भन्न नसकिए तापनि भूमण्डलीय तापमान वृद्धीले समग्र हिन्दुकुश हिमालय क्षेत्रको भौगोलिक अवस्थामा परिवर्तन आइरहेको प्रमाण बढ्दै गैरहेको छ । हिन्दुकुश हिमालय क्षेत्रमा रहेका हिमनदी, बरफ र हिमाच्छादित भूमिमा, खासगरि जलवायु परिवर्तनले गर्दा अकल्पनीय र मूलतः अपरिवत्र्य परिवर्तन भैरहेको सन् २०२३ मा इसिमोडले जारी गरेको एक महत्वपूर्ण प्रतिवेदनले देखाएको थियो ।

उक्त प्रतिवेदनले उच्च हिमाली भेगमा तापमान वृद्धी भैरहेको, हिमनदी र हिमाच्छादित भूमि पग्लिरहेको, हिउँको मात्रा घटिरहेको र हिमपात अनियमित बन्दै गैरहेको विषयमा प्रकाश पारेको थियो । यही वर्षको मार्च महिनामा इसिमोडले नै गरेको मूल्याङ्कनमा हिन्दुकुश हिमालयका हिमनदीमा बरफको आयातन घट्दै गैरहेको देखिएको छ । हिमायातन घट्ने क्रम सन् २००० देखि बढ्दै गैरहेको देखिएको छ ।

अभिलेख राख्न थालिएको साँढे पाँच दशकको अवधि मध्ये ९० प्रतिशत अवधि अर्थात् पाँच दशकको अवलोकनमा हिमनदीमा हिउँको मात्रा घट्दै गैरहेको देखिएको छ । ठीक एक वर्षअघि डायलग अर्थले पुरेपु हिमनदीको सतहमा रहेको सानो हिमतालबाट सुरु भएको अर्को विशाल बाढीको बारेमा समाचार प्रकाशन गरेको थियो । त्यतिखेर पनि विज्ञहरूले हिमतालको सङ्ख्या वृद्धी हुँदै गएको र हिमनदीको अवस्था परिवर्तन हुँदै गएको अवस्थामा तल्लो तटीय क्षेत्रमा खतरा बढ्दै गएको विषयमा सचेत गराएका थिए । उपलब्ध प्रमाण विश्लेषण गर्नेमा सन्याल पनि पर्छन् ।

इसिमोडले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत नेपाल सरकार साथै संसारभरका वैज्ञानिक र अनुसन्धानकर्ताहरूसँग मिलेर विपद् क्षेत्रमा ड्रोनबाट खिचिएका दृश्य सामग्री, तस्वीरहरू र अन्य तथ्याङ्क विश्लेषण गरिरहेको छ । डायलग अर्थसँगको संवादमा सन्यालले वैज्ञानिकहरूलाई हालसम्म थाहा भएका विषय, अस्पष्ट रहेका विषय र रोक्न सकिने क्षति बारे व्याख्या गरेका छन् । यस अन्तर्वार्तालाई स्थान र स्पष्टताका लागि सम्पादन गरिएको छ ।

इसिमोडका डिजास्टर रिस्क रिडक्शनका लागि इन्टर्भेन्शन म्यानेजर सास्वत सन्याल ।

यो बाढी बरफको चट्टान पहिरिँदा (आइस–रक अभालाञ्च) भएको थियो भन्ने प्रारम्भिक लेखाजोखाको आधार के हो, र यसको वैकल्पिक कारण हुनसक्छ भन्नेबारे विचार गरिएको छ कि छैन ?

यो बरफी चट्टानको पहिरो (आइस­रक अभालाञ्च) नभई बरफले ढाकेको चट्टानको (रक–आइस ­अभालाञ्च) पहिरो भएको हामीले बुझेका छौँ । यसमा बरफ भन्दा बढी चट्टान थियो । यो प्रारम्भिक बुझाइ हो । यसलाई स्थलगतले तथ्यले पुष्टी गर्नु आवश्यक छ । (पर्वतको भित्ताबाट) एक विशाल चट्टान लच्किएको थियो र यसमाथि यसको सिरानमा रहेको हिमदनी खस्यो ।

तर यो प्रारम्भिक अनुमान मात्रै हो र यसलाई पुष्टी गर्न थप तथ्य चाहिन्छ । परिकल्पनाहरू विभिन्न छन् । संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण शाखाले भूकम्पको अभिलेख गरेको थियो, तर हामीले चट्टान र बरफको विशाल कम्पनले भूकम्पजस्तो महशुस भएको पत्ता लगाएका छौँ । नेपालकै जलवायु तथा मौसम विज्ञान विभागले पनि अन्य भौगर्भिक कम्पनहरूको अभिलेख गरेको छ ।

विभिन्न पक्षहरूको रूजुसूची बनाइ के के भएको होइन भन्ने पत्ता लगाउने तरिकाले हामी काम गरिरहेका छौँ । यो विश्लेषण निरन्तर प्रक्रिया हो र यसलाई समय लाग्छ । हामीलाई अहिले सम्म थाहा भएको के हो भने, यो हिमताल विष्फोट भएर आएको बाढी नभई, बरफले ढाकिएको चट्टानको पहिरो (रक–आइस अभालाञ्च) हो ।

हिमताल विष्फोट भएर आउने बाढी के हो ?

बरफ र गेग्र्यान (हिमनदीले बगाएको ढुङ्गा र माटो)ले रोकिराखेको र पर्वतीय हिमनदी पग्लिएर बनेको हिमतालको पानीमा आउने अचानक बहाव । भूकम्प, हिमपहिरो वा पग्लिएको पानी धेरै हुँदा यस्तो बाढीको सुरुवात हुन्छ । ग्लोफहरू अक्सर अत्यन्त विनाशकारी हुन्छन् र हिमाली जलाधारमा बढ्दो जोखिमको रूपमा देखिएका छन् ।

लेदोको बहाव भदौ १० गते मात्रै सुरु भएको हो कि त्यसभन्दा पहिलेदेखि नै सुरु भएको परिवर्तनले आधार चट्टान भत्किएको हो भन्ने हामीलाई अहिले नै थाहा छैन । त्यसैगरि, (यही नदीमा) गत वर्ष आएको बाढीले अहिलेको विपद्को प्रभाव बढाएको हो कि होइन भन्ने पनि हामीलाई थाहा छैन ।

करिब १३ महिनाअघि घटेको त्यो घटनामा नदीका दुवैतर्फका भित्ताहरूमा असर परेको थियो । यसले अहिलेको बाढीको प्रभावलाई बढाएको हुनसक्छ । हामीले अध्ययन गर्नुपर्ने अर्को परिकल्पना यो हो । वि.स. २०७२ को भूकम्पले यसमा भूमिका खेलेको हुनसक्छ । अन्य कुन कुन पक्षले यसलाई असर गरेको छ भनी बुझ्न हामीले धेरै होशियारीका अध्ययन गरिरहेका रहेका छौँ ।

हिमालयको यस भागमा अन्तर्नीहित जोखिम परिदृश्य परिवर्तन भैरहेको तपाईँले देख्नुभएको छ ?

पूरै परिवर्तन भैरहेको छ । तर यसलाई जलवायु परिवर्तनसँग जोड्न समय लाग्छ । यसैले जलवायु परिवर्तन भएको हो भनेर तोक्न समय लाग्छ । हामीले बहु पक्षहरूमा विश्लेषण गरिरहेका छौँ । तर जलवायु परिवर्तनले हिन्दुकुश हिमालयमा तापमान वृद्धी भइरहेको देखिएको छ । हिन्दुकुश हिमालयमा जल, बरफ, समाज र पारिस्थितिक प्रणालीबारे हामीले जारी गरेको प्रतिवेदनमा हामीले बताए अनुसार, तापमान वृद्धीले हालैका वर्षमा यस्ता प्रकारका विपद्का सङ्ख्या र सघनता बढाइरहेका छन् ।

हामीले थुप्रै जटिल विपद्हरू देखिरहेका छौँ । प्रायः पूर्वाधार आयोजना विगतका जोखिम मूल्याङ्कनमा आधारित रहेका छन् भन्ने हामीले बुझ्नुपर्छ । योजना तर्जूमामा सरकारले जोखिमको बारेमा सोच्दै नसोचेको भने होइन । वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कन, साथ साथै केही हदसम्म खतरा मूल्याङ्कन पनि हुने गरेको छ । तर यस क्षेत्रमा जोखिमको प्रकृति अत्यन्त परिवर्तनशिल छ ।

भोटेकोशी नदीमा अचानक आएको बाढीपछि क्षतिग्रस्त भवनहरूमा खोजी कार्य सञ्चालन गर्दै उद्दारकर्मीहरू ।

हामीले विगतमा गरेको जोखिम सूचित योजना तर्जूमा तथा लगानी कार्यान्वयनको प्रयासलाई जोखिमको यो परिवर्तनशिल प्रकृतिले असर पार्नुका साथै परिवर्तनका लागि हाम्रो प्रयासभन्दा प्रकृतिको परिवर्तन छिटो भैरहेको छ । हामीले अब सुरुदेखि हेरेर हिन्दुकुश हिमालयमा भएका विभिन्न जोखिम र परिदृश्यहरूको चित्राङ्कन गर्नुपर्छ । विपद् जोखिमको विज्ञानमो तीन प्रकारका परिदृश्य हुन्छन् ।

पहिलो, एक घटनाले अर्को घटना घटाउँदै जाने, जसलाई क्यास्केडिङ् इम्प्याक्ट भनिन्छ । दोस्रो कम्पाउण्ड इम्प्याक्ट हो । यसमा छोटो समयको अन्तरालमा दुई छुट्टाछुट्टै विपद्का घटना घट्छन् । त्यसपछि अर्को भनेको एक घटनाको प्रभावले अर्को घटनाको असरलाई बढाउने हो, जसलाई याम्प्लिफिकेशन भनिन्छ । संसारले, त्यसमा पनि हिन्दुकुश हिमालय क्षेत्रले ग्लोफ भयो होला भन्ने मात्र सोच्नुभन्दा पनि यस्ता प्रकारका सम्भावनाहरूतर्फ ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।

हामीले देखेका घटनाहरूको कारण ग्लोफको बारेमा धेरै अनुसन्धान भएका छन् । तर हिमाच्छादित भूमिको पग्लाइ भन्ने छुट्टै प्रक्रिया पनि हुन्छ जसले पर्वतीय पाखाहरूलाई ज्यादै अस्थीर बनाइ सबै कुरालाई जटिल बनाइ रहेका छन् । हामीले यस क्षेत्रभरि नै विभिन्न कारणहरूलाई अझै होशियारी पूर्वक केलाउनुपर्छ, साथै हिमनदीहरूको अनुगमन पनि गर्नुपर्छ ।

हिमाली क्षेत्रको भौगोलिक अवस्था र सञ्चारको अवस्थालाई मध्यनजर गर्दै यथार्थपरक ढङ्गले हेर्दा यस्तो प्रकारको घटनामा अनुगमन प्रणालीले कति पूर्वसूचना प्रदान गर्न सक्छ ? र तल्लो तटीय क्षेत्रका वासिन्दाहरूलाई होशियारी अपनाउन त्यति सूचना पर्याप्त हुन्छ कि हुँदैन ?

पूर्वसूचना र त्यसपछि गर्नुपर्ने कार्यमा सामञ्जस्य नभएको हामीले देखेका छौँ । पूर्वसूचना प्रणालीले कामै नगरेको भने होइन । बाढीको पूर्वसूचना प्रणालीले काम गर्यो, तर हिमपहिरोको पूर्वसूचना प्रणालीले काम गरेन । घटनाको बारेमा भदौ १० गते नै मानिसहरूले फोनमा एसएमएसबाट सूचना पाएको हामीले थाहा पाएका छौँ । तर पूर्वसूचनापछि ठ्याक्कै के गर्ने र सुरक्षित तरिकाले कहाँ जाने भन्नेबारे मानिसहरूलाई थाहा नभएको पाइयो ।

पूर्वसूचना मानिसहरूमा पुगिसकेपछि सबै काम फत्ते भयो भन्ने हामी ठान्छौँ । तर त्यो पूर्वसूचनालाई तीव्र कार्यमा कसरी रूपान्तरित गर्ने भनी बुझ्नु ज्यादै महत्वपूर्ण हुन्छ । त्यही नै खाडल रह्यो । विपद् क्षेत्रमा धेरै तीर्थ यात्रीहरू र त्यस क्षेत्रभन्दा बाहिरका मानिस पनि थिए । कतिपयले हिन्दी भाषा त बुझ्थे होला, तर के भइरहेको छ भन्ने थाहा पाउन समय लाग्छ । थुप्रै व्यक्तिहरू त यस क्षेत्रका समेत थिएनन् ।

पर्वतीय क्षेत्रमा बस्ने मानिसहरूले आफ्नो भूभागलाई राम्ररी चिनेका हुन्छन् र रैथाने ज्ञानसमेत बोकेका हुन्छन्, तर यी वस्तीमा रहेका धेरै मानिसहरू अन्य स्थानबाट आएर सुक्खा बन्दरगाहमा काम गर्ने कामदारहरू पनि थिए, त्यसैगरि कतिपय व्यक्तिहरू पर्यटक घुमाउने गाडी चलाउने ड्राइभर थिए भने, कतिपय त आफैं पर्यटक पनि थिए । उनीरूले यहाँको जोखिमलाई पूर्ण रूपमा बुझुन् भन्ने अपेक्षा बढी हुन्छ ।

यस्ता जटिल जोखिमहरूबारे यस क्षेत्रभरि सचेतना फैलाउनको लागि अझ धेरै काम गर्न बाँकी छ । धेरै मानिसले पूर्वसूचना पाएका भए पनि घटनाको आकारबारे उनीहरूले नबुझेका हुन सक्छन् । सामान्य बाढी होला भनेर उनीहरूले ढिलासुस्ती गरेका हुन सक्छन् । भविष्यका पूर्वसूचनाहरूले विपद्को आकार र प्रकार प्रष्ट पार्नुका साथै सुरक्षित रूपमा कहाँ जाने र के के गर्ने भन्ने प्रष्ट पार्नुपर्छ ।

यस्ता प्रकारका घटनाको अनुगमन कसरी गर्ने ?

बरफको चट्टान (आइस–रक) वा बरफले ढाकेको चट्टानमा (रक–आइस) आउने पहिरोलाई अनुगमन गर्न धेरै गार्हो हुन्छ । जताततै अनुगमन केन्द्र राख्न पनि सकिँदैन । तर कुन कुन हिमनदीहरू अस्थीर छन् भन्ने पहिचान गरि तिनीहरूको नक्शाङ्कन गर्नुका साथै क्यामेरा र जियोफोन (भू–हलचललाई मापन गर्न सकिने भोल्टेजमा परिवर्तन गर्ने उपकरण) प्रयोग गरि तिनीहरूको अनुगमन गर्न सकिन्छ । युरोपमा यसका उदाहरण छन् ।

स्वीट्जरल्याण्डकोे ब्लाटेन गाउँमा यत्रै आकारको विपद्को घटना घट्दा सरकारले मानिसहरूलाई सुरक्षित स्थानमा सार्न सफल भएको थियो । तर आल्पको पर्वतीय क्षेत्र हिन्दुकुश हिमालय भन्दा धेरै फरक छ । युरोपको आल्प पर्वतीय क्षेत्रमा सामान्यतयाः घटनाका आकार धेरै साना हुन्छन् र धेरैजसो स्थान आवादी छन्, तर यहाँ (हिन्दुकुश क्षेत्रमा) अत्यन्त दुर्गम र आवाद नभएका क्षेत्रहरू छन् र यहाँ सेन्सरहरू राख्न अत्यन्त गार्हो हुन्छ । भविष्यमा अवजर्भेशन डाटाहरू परिवर्तन मापन गर्न रिमोट सेन्सरहरू प्रयोग गरि सङ्कलन गरिएको तस्वीर र नापजाँचहरू प्रयोग गर्न सकिन्छ होला ।

तथ्य आदानप्रदानको विषयमा, के चीन र नेपाल बिच सूचना आदानप्रदानमा खाडल रहेको थियो ? प्रभावकारी सिमापार पूर्वसूचना प्रणाली कस्तो हुनुपर्छ ?

विपद्ले सिमाना हेर्दैन । माथिल्लो तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रमा रहेका मुलुकहरूले विपद् सम्बन्धी सूचना आदानप्रदानमा मिलेर क्षेत्रीय संरचना बनाउनु पर्दछ । यस क्षेत्रमा सरकारहरू बिचमा तदर्थ रूपमा सूचना आदानप्रदान भैरहेको छ, तर स्थायी क्षेत्रीय संयन्त्र र कार्यविधि वा स्ट्याण्डर्ड अपरेटिङ्ग प्रोसिजर बनेको छैन । इसिमोडले यसको लागि वकालत गर्दै आइरहेको छ र यस्तो संयन्त्र स्थापना गर्न सहजिकरण गर्न सक्छ ।

तर यसको लागि समय लाग्छ, किनभने यस क्षेत्रका सबै मुलुकहरूलाई सूचना अत्यन्त संवेदनशिल छ । यस क्षेत्रका मुलुकका सरकारहरूको तथ्य आदानप्रदान नियमावली अर्थात् डाटा शेयरिरङ् प्रोटोकल बुझ्न र सिमापार हिसाबले यथासमयमा सूचना आदानप्रदानको लागि आवश्यक अनुमतिहरू प्राप्त गर्न हामीले सरकारहरूसँग निकटस्थ रहेर काम गर्नुपर्छ ।

काठमाडौंमा रहेको नेशनल ट्रमा सेन्टरमा फोटो हेर्दै हराएका मानिसहरूको खोजी गर्दै आफन्तहरू ।

यस घटनामा, घटनाको उत्पत्ती नेपाल चीन सिमानामा, नेपाल तर्फको विन्दुमा भएको थियो । चीनले नेपालभित्रको क्षेत्रलाई अनुगमन गर्न पाउँदैन, तर दुई नदीको संगममा रहेको सुक्खा बन्दरगाह पूरै ध्वस्त भएकोले ृचीन तर्फको संरचनोमाअसर परेको छ । पूर्वसूचनालाई उन्नत बनाउन हामीले क्षेत्रीय रूपमा काम मिलेर काम गर्नुपर्छ । पूर्वसूचना र त्यसपछि गर्नुपर्ने कार्य बिच सकभर थोरै खाडल रहोस् भनी योृपूर्वसूचनो दुर्गम भन्दा दुर्गम सम्म पुग्नुपर्छ ।

के यस विपद्पछि हिन्दु कुश हिमालयको अन्य क्षेत्रमा यहाँहरूले जोखिम मूल्याङ्कन गर्ने तरिकामा परिवर्तन आएको छ ? तपाईंहरूलाई बढी चिन्ता लागेको हिमनदी प्रणाली, पाखाहरू र वस्तीहरू छन् ?

हामीले यस्ता जोखिमहरूको बारेमा लामो समयदेखि चर्चा गर्दै आएका हौँ, तर यो विपद्ले क्यास्केडिङ्ग, कम्पाउण्ड र याम्प्लिफायिङ्ग डिजास्टरको बारेमा अझै व्यापक र खुला रूपमा चर्चा गर्ने अवसर प्रदान गरेको छ । विपद्लाई राष्ट्रिय सिमाभित्र सिमित भएर हेर्ने जमाना गयो । अब हामी थप मजबुद क्षेत्रीय सहकार्यतर्फ लाग्नुपर्छ ।

यस क्षेत्रमा हामीले चिन्ता गर्नुपर्ने थुप्रै प्रणालीहरू छन् । प्रत्येक नदी प्रणाली वा हिमनदीमा ध्यान दिन सकिँदैन, त्यसैले तल्लो तटीय क्षेत्रमा वस्ती भएका वा जलविद्युत आयोजना जस्ता लगानी भएका क्षेत्रमा ध्यान दिनुपर्छ । सुरुमा, तल्लो तटीय क्षेत्रमा जलजिद्युत आयोजना भएका क्षेत्रहरूको नक्शाङ्कन गरि त्यसको माथिल्लो तटको जोखिमहरू विश्लेषण गर्नुपर्छ । नेपालमा जलविद्युत आयोजनाहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ ।

बाढी र अन्य पर्वतीय जोखिमहरूको बढ्दो खतरा बिच, के जलविद्युत आयोजनाहरूकोे विस्तार टिकाउ हुनसक्छ ? र यी आयोजनाहरू सुरक्षित रूपले निर्माण गर्नको निम्ति कस्ता कस्ता रोकथामजन्य वा सन्तुलन कार्यहरू आवश्यक पर्न सक्छन् ?

हामीले स्वीकार्य जोखिमहरू के के हुनसक्छन् भनी सोच्नुपर्छ, र माथिल्लो तटका जोखिमहरू बुझेपछि मात्र यो सम्भव हुन्छ । यस क्षेत्रमा जलविद्युत आयोजनाहरू डिजाइन गर्दा वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कनका साथै केही जोखिम मूल्याङ्कन गरिन्छन् । तर विस्तृत बहु–प्रकोपीय जोखिम मूल्याङ्कनको आधारमा मात्रै जलविद्युत आयोजनाहरू निर्माण गर्नुपर्छ ।

भविष्यमा पनि यस्ता लगानी आवश्यक पर्छन्, तर जोखिमको उचित बुझाइ पछि मात्रै जलविद्युत आयोजना निर्माण गर्नुपर्छ । त्यस्तो मूल्याङ्कनले क्यास्केडिङ्ग, कम्पाउण्ड र याम्प्लिफाइङ्ग रिस्कको बारेमा पनि विचार गर्नुपर्छ । त्यसपछि मात्रै जलविद्युत केन्द्रहरूमा जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

यस विपद्बाट भएको जन र धनको क्षतिमध्ये कति चाहिँ यथार्थपरक तरिकाले रोक्न सकिन्थ्यो ?

इमान्दार भएर भन्दा यही घटनामा चाहिँ धेरै गार्हो थियो । ठ्याक्कै तल्लो तटमा रहेका मानिसहरूलाई बाँच्ने लगभग कुनै मौकै थिएन । बाढीको बहाव यति तीव्र थियो कि केही किलोमिटर मात्रै तल रहेका वस्तीहरूमा जोगिने असम्भव जस्तै थियो । तर, अलि पर रहेका तल्लो तटका वासिन्दाहरूलाई पूर्वसूचना र कार्यको खाडल नभएको भए र कहाँ जाने भन्ने सूचना मानिसहरूलाई अलि प्रष्ट थाहा भएको भए पूर्वसूचनाले धेरैको ज्यान बचाउन सक्थ्यो ।

फोनमा एसएमएस मार्फत धेरै मानिसहरूले पूर्वसूचना पाएका थिए । तर एसएमएसमा आएको सूचना पछि के गर्ने भन्ने विषयमा हामीले विचार गर्नुपर्छ । भविष्यमा, पूर्वसूचनाहरूमा घटनाको आकार पनि उल्लेख गर्नुपर्छ, ताकि मानिसहरूलाई कहाँ जाने र कति टाढासम्म भाग्ने भन्ने थाहा होस् । यसो गरेको भए, धेरै मानिसको ज्यान जोगिन सक्थ्यो ।

कहिलेकाहीँ समय वित्दै जाँदा, विगतको विपद् बारे हाम्रो स्मरण धमिलो हुँदै जान्छ । हाम्रो स्मरणबाट यो नमेटियोस् भनी हामीले प्रचार प्रसार गर्नुपर्दछ । यसो गरियो भने पछिको लागि हामीले राम्रो योजना बनाउन सक्छौँ । त्यसैगरि, भाग्नको लागि पर्याप्त समय प्राप्त गर्न हामीले कस्ता उपकरणहरूको आविस्कार गर्न सक्छौँ भन्ने पनि सोच्नुपर्छ ।

बरफले ढाकेको चट्टान पहिरिँदा (रक–आइस अभालाञ्च) उचाइ, गहिरो र साँघुरो खोँचका कारण बहाव अत्यन्त तीव्र हुने भएकाले केही किलोमिटर मात्रै तल रहेको वस्तीमा पर्याप्त पूर्वसूचना प्रदान गरि वस्तीहरू खाली गर्ने झण्डै झण्डै असम्भव हुन्छ । तर, कम्तीमा पनि तल्लो तटमा रहेका अन्य समुदायको लागि क्षेत्रीय रूपमा (अनुगमन, पूर्वसूचना र तयारीमा सुधार गर्नको निम्ति) केही गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार