२०८३ मंसिर ५ , शनिबार 22, November 2026, Sunday

स्वस्तिका र टेकेन्द्रलाई राप्तीसोनारी नेचर रनको उपाधि

तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जित्नुभएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित मदुवामा शनिबार सम्पन्न १० किलोमिटर दौडको खुला महिलातर्फ स्वस्तिका र पुरुषतर्फ टेकेन्द्रले पहिलो स्थान हासिल गर्दै उपाधि चुमेका छन् ।

खुला महिलातर्फ रीताकुमारी दोस्रो र नन्दिता थारु तेस्रो भए । यस्तै, खुला पुरुषतर्फ निराजन चौधरी दोस्रो र प्रशान्त तामाङ तेस्रो स्थानमा रहे । विद्यालयस्तरीय छात्रतर्फ भविन्द्र बोहरा प्रथम, समिर थारु दोस्रो र विशाल यादव तेस्रो भए । छात्रातर्फ तीन किलोमिटर दौडमा रेण्ॉका चौधरीले पहिलो, अनुजा थारुले दोस्रो र निस्मा थारुले तेस्रो स्थान हासिल गरे ।

३०० भन्दा बढी धावकको सहभागिता रहेको प्रतियोगिताका सबै विधाका शीर्ष तीन खेलाडीलाई क्रमश: तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित पदक प्रदान गरिएको थियो । जर्मनीमा बसोबास गर्दै आएका मदुवा निवासी पूर्व राष्ट्रिय खेलाडी तीर्थ ओलीको पहलमा धारा नेपालगन्ज म्याराथनको भगिनी दौड कार्यक्रमका रूपमा राप्तीसोनारी नेचर रन आयोजना हुँदै आएको छ ।

प्रतियोगिताका शीर्ष १० धावकले आगामी मंसिर १२ गते आयोजना हुने धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा स्वत: सहभागी हुन पाउने रेस डाइरेक्टर चन्द्र गुरुङले जानकारी दिए । यसैबीच, प्रतियोगिताका अवसरमा आयोजित एक किलोमिटर वाकाथनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा थारु, लुम्बिनी प्रदेशसभाकी पूर्व सदस्य कृष्णा केसी ‘नमुना’ लगायत करिब १०० जनाको सहभागिता थियो ।

गाउँपालिका अध्यक्ष पौडेलले दौडको उद्घाटन गर्दै तेस्रो संस्करणदेखि सिंगो गाउँपालिका र वडा नं.२ ले समेत प्रतियोगिताको अपनत्व लिएको बताए । उनले यसले प्रतियोगितालाई निरन्तरता दिने आधार तयार भएको उल्लेख गरे । प्रतियोगितामा विजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाकी पूर्व सदस्य कृष्णा केसी, धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी लगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए ।

प्रकाशित मिति : २०८३ मंसिर ६ गते आइतबार