कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा चर्चामा आएकी २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् । बैतडीको मैलाली नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधि बनेकी सरिता शुक्रबार सम्पन्न प्रदेशसभा ‘ख’ अधिवेशनबाट ३५ वर्षमुनिको समूहमा निर्विरोध प्रदेश प्रतिनिधि चुनिएकी हुन् ।
सरिताले यसअघि २०८१ चैतमा भएको कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ८६५ मत प्राप्त गरेकी थिइन् । उक्त निर्वाचनमा उनी सर्वाधिक मत ल्याउनेमध्येकी प्रमुख विद्यार्थी नेताका रूपमा चर्चामा आएकी थिइन् । प्रदेश प्रतिनिधिमा निर्वाचित भएपछि सरिताले कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा ३५ वर्षमुनिको समूहबाट प्रदेश सदस्यमा उम्मेदवारी दिने बताएकी छन् ।
कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तत्काल जिल्ला र प्रदेश अधिवेशन भने नगर्ने तयारी गरेको छ । केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला र प्रदेश अधिवेशन गरी नेतृत्व चयन गर्ने कांग्रेसको योजना छ । कैलाली बहुमुखी क्याम्पसमा सरिता स्नातक तह मानविकी संकायअन्तर्गत राजनीतिक विज्ञान तथा पत्रकारिता विषय अध्ययनरत छिन् ।
