२०८३ असोज ९ , शुक्रबार 26, September 2026, Saturday

राष्ट्रसङ्घको सहासभामा प्रधानमन्त्री बालेनले उठाए १७ सवाल

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्दै विश्व समुदायसामु नेपालको अधिकार र जलवायु न्यायको माग गरेका छन् । शालीन र विनम्र शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री शाहले सम्बोधन गर्दा सभाहलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर समर्थन जनाएका छन् ।

नेपाली समय अनुसार बिहान ५ः४५ बजे सुरु भएको सम्बोधनमा प्रधानमन्त्री शाहले विपद्का लागि कुनै पनि देशलाई दोष नलगाउने तर जलवायु परिवर्तनका कारण नेपालले भोगेको क्षतिबापत आफ्नो अधिकार र सहयोग पाउनुपर्ने स्पष्ट धारणा राखे । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई विभिन्न देशका प्रतिनिधिहरूले निकै चासोका साथ सुनेका थिए ।

प्रधानमन्त्री शाहले भोटेकोशी विपद् सम्पूर्ण विश्वका लागि खतराको घन्टी भएको बताउँदै नेपालले मागेको जलवायु न्याय राष्ट्रसंघका दस्तावेजमा मात्रै सीमित हुन नहुनेमा जोड दिए । सम्बोधनका क्रममा उनले फागुन २१ मा सम्पन्न निर्वाचन इतिहासमै शान्तिपूर्ण र निष्पक्ष भएको उल्लेख समेत गरे ।

१. भोटेकोशी बाढी र विपद् विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जना भएको हो ।

२. नेपाल यस मुद्दामा कुनै पनि देशलाई दोष लगाउन र यसलाई भूराजनीतिको विषय बनाउन चाहँदैन ।

३. बाढी विपद्पछि नेपालमा सिर्जना भएको चुनौतीपूर्ण अवस्थासँग जुध्न विश्व समुदायले सहयोग गर्नुपर्छ ।

४. फागुन २१ को निर्वाचन नेपालको इतिहासमै निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।

५. भोटेकोशी बाढी विश्वकै लागि चेतावनी र चुनौतीपूर्ण थियो; के विश्व समुदायले त्यो चेतावनी सुन्यो ?

६. नेपालले कम विकसित देश (एलडीसी) भएर पनि आफ्नो दायित्वभन्दा बढी वातावरणीय योगदान गरिरहेको छ ।

७. जलवायु विपद्को सामना गर्न स्थानीय स्तरमा अनुकूलनका कार्यक्रमहरूलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता ।

८. जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन, यो व्यवहारमा देखिनुपर्छ ।

९. नेपाली नागरिकले आफ्नो हक अधिकार प्रयोग गरेर आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्न पाउनुपर्छ ।

१०. नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य बर्सेनी चुकाइरहनु परेको छ ।

११. अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद तोकिएकै समयमा पुग्ने तर नेपालीलाई आवश्यक पर्दा बजार मूल्यमै पनि मल वा इन्धन पाउन नसक्ने अवस्था छ ।

१२. ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने क्षमता भएको विश्वले किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्नुहुँदैन ।

१३. भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ; हिलो, ढुङ्गा र पानीका कारण केही शवहरू कहिल्यै फेला नपर्न सक्छन् ।

१४. हिमनदीमुनिको पर्माफ्रस्ट पग्लिँदा पहाडी भिरालाहरूमा चिरा पर्दै गएको छ भने हिमपहिरो, बाढी र पहिरोजस्ता विपद्को जोखिम बढिरहेको छ ।

१५. नेपाललाई पुनरुत्थान र पुनःनिर्माणमा विश्व समुदायको खाँचो छ; विपद्का बेला भारत र चीनले गरेको सहयोग प्रशंसनीय छ ।

१६. धनी राष्ट्रहरू युद्ध र हतियारमा केन्द्रित हुँदा साना र गरिब राष्ट्रहरू थप कमजोर बनिरहेका छन् ।

१७. जलवायु सङ्कटसँग जुध्न, जोखिमपूर्ण हिमतालको निगरानी गर्न र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन नेपाल, भारत र चीनबीच संयुक्त संयन्त्र बनाउनुपर्छ ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार