प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तन र युद्धको प्रभाव नेपालमा गहिरो परेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘जलवायु परिवर्तनबाट सिर्जित विपद्ले सडक, पुल, विद्यालय, घर, खेतबारी र जीविकोपार्जनका साधन नष्ट गर्छ । भविष्यलाई ऊर्जा दिन आवश्यक स्वच्छ ऊर्जा पूर्वाधारसमेत नष्ट गर्छ ।’
‘आफैंले सिर्जना नगरेको क्षति मर्मत गर्न गरिब देशलाई ऋण लिन बाध्य बनाउँछ,’ उनले भने, ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमार्फत अन्तर्राष्ट्रिय समुदायले साझा तर फरक जिम्मेवारी र सम्बन्धित क्षमताहरू को सिद्धान्तमा सहमति जनाइसकेको छ । जसले विगतमा समस्यामा बढी योगदान गरेका छन् र जससँग सामना गर्ने क्षमता बढी छ, उनीहरूले बढी गर्नुपर्छ ।’
यसको प्रभाव हिन्दुकुश हिमालय क्षेत्रमा ठूलो परेको उनले बताए । युद्धले आपूर्ति चक्र प्रभावित हुँदा नेपालजस्ता देशका गरिब किसान थप मारमा पर्ने उनले बताए । युद्ध र जलवायु परिवर्तन दुबैमा कुनै भूमिका नरहेका तेस्रो विश्वका गरिबहरु यसबाट प्रभावित भइरहेको उनले बताए । ‘हरेक ठूलो विपत्तिले विकासका वर्षौँका उपलब्धि मेटाउने खतरा उत्पन्न गर्छ । नेपालका लागि जलवायु विपत्ति केवल मानवीय संकट होइन, विकासको आपत्काल पनि हो,’ शाहले भने ।
उनले धनी राष्ट्रहरु युद्धमा मात्रै केन्द्रीत हुँदा गरिब राष्ट्रहरु थप कमजोर भएको बताए । ‘७२ घण्टामा संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्ने कुनै बहाना छैन,’ उनले भने । ‘यस मनसुनमा एक गरिब नेपाली किसानले बीउ छर्न जाँदा समयमा मल पाउन सकेनन् । नयाँ राजमार्ग निर्माण गर्न खोज्दा बिटुमिन उपलब्ध भएन । एउटा परिवार साँझको खाना खान बस्दा खाना पकाउने इन्धनको अभाव थियो,’ उनले भने ।
‘एकातिर हिमनदी पग्लिरहेका छन् र बाली नष्ट भइरहेका छन्, अर्कोतिर पूर्वसूचनाबिनै बाढी आइरहेका छन् । अर्कोतिर विश्वव्यापी आपूर्ति शृंखलाले कारणवश होइन, परिस्थितिका कारण गरिब मानिसलाई सजाय दिइरहेको छ । अन्तरमहादेशीय क्षेप्यास्त्र समयमै आइपुग्छन् । राइफल र गोलीगठ्ठा सीमापार गर्छन्, हरेक अवरोध पार गर्छन्, हरेक समयसीमा पूरा गर्छन् । तर नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्य तिर्न तयार हुँदासमेत मल वा इन्धन पाउन सक्दैनन्,’ शाहले भने ।
