२०८३ असोज ६ , मंगलबार 22, September 2026, Tuesday

एउटै मञ्चबाट बालेन र ट्रम्पले उठाउँदैछन् फरक-फरक मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा मङ्गलबार सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्धमा हासिल गरेका उपलब्धि र शान्ति स्थापनाका प्रयासलाई प्रमुखताका साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धको औचित्य पुष्टि गर्नुका साथै गाजाको द्वन्द्व अन्त्य गर्ने आफ्नो पहल र इजरायलसँगको अब्राहम सम्झौतामा थप अरब देशलाई सहभागी गराउने प्रयासबारे धारणा राख्ने सम्भावना छ ।

उनले हर्मुज जलघाँटीमा युद्धका कारण उत्पन्न अवरोध र त्यसबाट भएको आर्थिक क्षतिबारे पनि आफ्नो पक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीले ट्रम्पले आफूलाई शान्ति निर्माता र सैन्य कारबाहीका समर्थक दुवै रूपमा प्रस्तुत गर्न सक्ने बताए ।

महासभामा उनले संयुक्त राष्ट्रसङ्घप्रतिको आलोचना पनि दोहोर्‍याउन सक्ने अनुमान गरिएको छ । गत वर्ष ट्रम्पले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आफूले प्रयोग गर्ने क्रममा एस्केलेटर रोकिएको र टेलिप्रोम्प्टरमा समस्या आएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले एस्केलेटरको जाँच गरिएको र अमेरिकी प्रतिनिधिमण्डलका लागि टेलिप्रोम्प्टरको नयाँ व्यवस्था गरिएको बताएका छन् । महासभाका क्रममा ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की, जापानका प्रधानमन्त्री साने तकाइची र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गरे ।

महासभाको उच्चस्तरीय बैठकमा युद्ध र कृत्रिम बौद्धिकतासहित विश्वव्यापी सुरक्षा तथा आर्थिक चुनौतीबारे छलफल हुँदैछ । ट्रम्पअघि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सम्बोधन गरे । पुनःनिर्वाचनको तयारीमा रहेका लुलाले ट्रम्पलाई ब्राजिलको आगामी निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन् । महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ ।

नेपाल पनि सहभागिता हुँदै

यही अन्तर्राष्ट्रिय मञ्चमा नेपालले पनि आफ्नो उपस्थिति जनाउँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको यो पहिलो विदेश भ्रमण हो । त्यसैले उनको संयुक्त राष्ट्रसङ्घको सम्बोधनलाई नेपालको पछिल्लो राजनीतिक, सामाजिक तथा वातावरणीय अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष धारणा राख्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

विशेषगरी पछिल्लो समय नेपालले भोगेको बाढी तथा अन्य प्राकृतिक विपद्, जलवायु परिवर्तनको प्रभाव र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विषय नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरेको छ । प्रधानमन्त्री शाहले जलवायु न्याय, हानि–नोक्सानी तथा विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिने अपेक्षा गरिएको छ ।

नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको गम्भीर असर भोगिरहेको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने अवसरसमेत यस भ्रमणले दिएको छ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको उच्चस्तरीय सप्ताहमा जलवायु परिवर्तन र समुद्री सतह वृद्धिसम्बन्धी छुट्टाछुट्टै उच्चस्तरीय बैठकसमेत हुँदैछन् ।

सेप्टेम्बर २३ मा जलवायु कार्य र न्यायपूर्ण संक्रमण तथा सेप्टेम्बर २४ मा समुद्री सतह वृद्धिबाट उत्पन्न जोखिमबारे उच्चस्तरीय बैठक तय गरिएको छ । नेपालका लागि यी बैठकहरू हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम र बाढी–पहिरोजस्ता जलवायुजन्य विपद्का विषय अन्तर्राष्ट्रिय छलफलमा लैजाने अवसर बन्न सक्छन् ।

पछिल्लो समय नेपालमा भएका विपद्लाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने प्रयाससमेत भइरहेको छ । प्रधानमन्त्री शाहले महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न देशका नेता तथा उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसकेका छन् र उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय छलफल तथा द्विपक्षीय भेटवार्तामा सहभागिता जनाउनेछन् । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

यसपटकको महासभामा युद्ध र शान्तिसँगै जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक चुनौती, कृत्रिम बुद्धिमत्ता र अन्तर्राष्ट्रिय सहकार्यका विषय प्रमुख रूपमा उठिरहेका छन् । यस्तो समयमा नेपालले आफ्ना जलवायुजन्य जोखिम, विपद्पछिको आवश्यकता र जलवायु न्यायको मुद्दालाई विश्वमञ्चमा कति प्रभावकारी ढंगले प्रस्तुत गर्छ भन्ने विषयमा चासो छ । प्रधानमन्त्री शाह असोज १० गते अर्थात् सेप्टेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार