२०८३ असोज ३ , शनिबार 19, September 2026, Saturday

टंकले ल्याए देउडा गीत ‘ए मेरी दाईकी साली’

लोकप्रिय देउडा गायक टंक तिमिल्सिना र गायिका लक्ष्मी नेपालीको स्वरमा सजिएको नयाँ देउडा गीत ‘ए मेरी दाईकी साली’ आधिकारिक रूपमा सार्वजनिक भएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक देउडा संस्कृतिलाई समेटेर तयार पारिएको यो गीत डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।

पशुपति भट्टको शब्द तथा संगीत रहेको यस गीतमा देवेस राईले सङ्गीत संयोजन (अरेन्ज) गरेका छन् । ‘ए मेरी दाईकी साली’ गीतको म्युजिक भिडियोमा सुस्मिता कुँवर लगायतका कलाकारहरूको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ, जसले सुदूरपश्चिमको मौलिक परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

गायक तिमिल्सिनाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले छोटो समयमै देउडा प्रेमी दर्शक तथा श्रोताको राम्रो साथ पाइरहेको छ । यो गीत युट्युबसँगै स्पोटिफाई लगायतका विभिन्न डिजिटल प्लेटफर्महरूमा पनि सुन्न सकिन्छ । तिमिल्सिना सेलेव्रिटी क्रिकेटका अलराउन्डर खेलाडी पनि हुन । उनले चिया अफिस नामक चिया व्यवसाय पनि सञ्चालन गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार