२०८३ असोज ३ , शनिबार 19, September 2026, Saturday
साहित्य

‘निरिह आमा’

नारीबाट जन्मिएर नारीचरण पुज्नुपर्ने संस्कार भएर पनि किन नाबालक नारीलाई नै लुच्छन् होला ?
कमला डिसी
कमला डिसी । साहित्यकार

छोरीहरू तिम्रा अधमरा आमाहरूलाई माफ गरिदिनु है ?
तिम्रा लागि गरेका र गर्न नसकेका भूलचूक भुलिदिनु है,
तिमीसँग अल्पायूमै बिछोडिनुको निरिहता बुझिदिनु है,
त्यो अवस्थामा तिमीलाई गुमाउँदाको आत्मग्लानीलाई बिर्सिदिनु है,

शब्दहरू नै लज्जित बन्छन् तिम्रो त्यो अवस्था उजागार गर्दा,
भावना पनि भयभित हुन्छन् तिमीमाथि भएको बर्बरता महसुस गर्दा,
शरिर नै चिसिन्छ र ऐठन पर्छ आफूलाई तिम्रो स्थानमा राख्दा,
चेतनाशून्य भएझैं लाग्छ तिम्रा बारेमा पढ्दा र तिम्रो अबोध तस्बिर देख्दा,

मानव रूपमा जन्मिएका ति दानबहरूको स्वरूप कस्तो छ होला ?
छोरीहरूका लागि वात्सल्य छल्किनुपर्ने आँखामा वासना कसरी भर्छन् होला ?
संरक्षणका लागि उठ्नुपर्ने हातहरूले सर्वांग बनाउन कसरी सक्छन् होला ?
नारीबाट जन्मिएर नारीचरण पुज्नुपर्ने संस्कार भएर पनि किन नाबालक नारीलाई नै लुच्छन् होला ?

अत्ति भएनर भगवान अब ?
किन मानव दिनदिनै निकृष्ट दानव बन्दैछ ?
कानूनले पनि यस्ता कलंकका लागि कुनै सजाय नै छैन भन्दैछ,
आजको समाजको माग छ यस्तालाई मृत्युदण्डको सजाय नै हुनुपर्दछ,
सके शिर भेदन नभए अंग क्षेदन गरेरै भएनि छोरीहरूको आत्मालाई शान्ति दिनुपर्दछ ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार