जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब केबल हिमाल, हिमनदी, वनजङ्गल तथा भौतिक संरचनालाई मात्र नभई, मानव सभ्यता र स्थानीय समुदायले सयौँ वर्षदेखि जोगाएर राखेका सांस्कृतिक सम्पदालाई असर गर्न थालेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा विसं २०८१ साउन ३२ गते हिमताल विस्फोटपछि आएको बाढीले यसको एउटा टड्कारो उदाहरण प्रस्तुत गर्यो ।
जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेको माथिल्लो क्षेत्रमा रहेका दुई वटा हिमताल फुटेर आएको बाढीले घर, होटल, पुल, बाटो र कृषि जमिन मात्र तहसनहस बनाएन, बौद्ध धर्मवलम्बीकोे धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेका सयौँ वर्ष पुराना माने, छोर्तेन तथा बौद्ध सम्पदामा अपूरणीय क्षति पुर्याएको छ ।
खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे तथा थामे क्षेत्रमा करिब २०० मिटर पदमार्ग कटान गर्दा करिब ६०० वर्ष पुरानो र एक हजार पाँच हजार थानभन्दा बढी सम्बोटा लिपिमा कुँदिएको ढुङ्गाको ‘माने’ बगाएको थामेका वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बताए । सोही बाढीले थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।
स्थानीयहरु सयौँ वर्षअघि पुर्खाले आफ्नै हातले ढुङ्गामा कलात्मक ढङ्गले कुँदेर बनाएका सांस्कृतिक सम्पदाको त्यो मौलिक स्वरूप र ऐतिहासिक मूल्य फर्काउन असम्भवजस्तै भएको बताउँछन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हिन्दूकुश–हिमालय क्षेत्र विश्व औसतभन्दा छिटो तातिरहेको छ ।
तापक्रम वृद्धिसँगै हिमनदी तीव्र रूपमा पग्लिरहेका छन् । हिमतालको आकार बढिरहेको छ । हिमताल विस्फोटजन्य बाढीको जोखिम पनि बढ्दै गएको छ । यसले हिमाली क्षेत्रका प्राकृतिक सम्पदासँगै सांस्कृतिक सम्पदालाई गम्भीर जोखिममा पारेको छ ।
के हो ‘माने’ ?
स्थानीय जानकार तथा पर्यटनविद् आङ छिरिङ शेर्पाका अनुसार माने बौद्ध धर्मावलम्बीले सयौँ वर्ष अगाडिदेखि आस्थाका साथ निर्माण गर्दै आएका ऐतिहासिक सांस्कृतिक संरचना हुन् । स्थानीय भाषामा यसलाई ‘माने लाङ्गा’ भनिन्छ । यी मानेहरूमा बौद्धधर्मको पवित्र मन्त्र ‘ॐ मणि पद्मे हूँ’ र बुद्धका विभिन्न स्वरूपका उपदेश तथा चित्रहरू अङ्कित गरिएका हुन्छन् ।
परम्परा र स्थानीय जनविश्वास अनुसार यी मानेहरूलाई जहिले पनि दाहिने पारेर मात्र परिक्रमा गर्ने वा बाटो काट्ने गरिन्छ । यसरी श्रद्धापूर्वक परिक्रमा गर्दा वा माने चक्कालाई घुमाउँदा संसारमा शान्ति, करुणा र सकारात्मक ऊर्जा फैलिने विश्वास रहेको स्थानीय जानकार लामाकाजी शेर्पाको भनाइ छ ।
मानेको निर्माण प्रक्रिया निकै जटिल, पवित्र र श्रमसाध्य हुने स्थानीय जानकारहरू बताउँछन् । यसको निर्माण मुख्यतः तीन चरणमा पूरा हुन्छ । ढुङ्गाको छनोट र तयारी, मानेका लागि हिमाली क्षेत्रका बलिया, थेप्चा र सम्म परेका विशेष ढुङ्गा खोजिन्छ ।
स्थानीय कलाकार वा लामाहरूले एकाग्रताका साथ हातमा छिना र हतौडा लिएर ती ढुङ्गाका पाताहरूमा मन्त्र र बुद्धका आकृतिहरू खोप्छन् । यसरी ढुङ्गामा छिना धसेर मन्त्र कुँद्ने कार्यलाई बौद्ध परम्परामा निकै पवित्र धार्मिक कर्म मानिन्छ ।
मन्त्र कुँदिएका ती सयौँ ढुङ्गाका पातालाई कलात्मक ढङ्गाले एकमाथि अर्को खप्ट्याएर, बाटोको बीचमा वा गाउँको प्रवेशद्वारमा आकर्षक पर्खाल वा ढिस्कोको रूप दिइन्छ । सोसम्बन्धी जानकार आचार्यरिन्जी छेपाल शेर्पाका अनुसार एउटा माने पर्खाल निर्माण हुन लाग्ने समय त्यसको आकार र ढुङ्गामा कुँदिने मन्त्रको सङ्ख्यामा भर पर्छ ।
ढुङ्गामा हातले छिनाका माध्यमबाट मन्त्र खोप्न अत्यधिक समय र धैर्यता चाहिन्छ । एउटै ठूलो ढुङ्गामा मन्त्र र बुट्टा भर्न कतिपय अवस्थामा हप्तौँ लाग्छ । एउटा पूर्ण माने तयार गर्न महिनौँदेखि कतिपय अवस्थामा वर्षौंसम्म लाग्ने गर्दछ । कतिपय ऐतिहासिक ठूला माने पर्खालहरू त पुस्तौँदेखि थपिँदै र विस्तारित हुँदै सयौँ वर्ष लगाएर आजको स्वरूपमा आइपुगेका हुन् ।
तर, जलवायु परिवर्तनका कारण थामे उपत्यकाजस्ता उच्च हिमाली क्षेत्रहरूमा अचानक आउने हिमताल विष्फोटनको बाढी र तीव्र भू–क्षयका कारण पुर्खाहरूले महिनौँ र वर्षौँ लगाएर बनाएका यी ऐतिहासिक मानेहरू सधैँका लागि विलीन हुने खतरा बढेको छ । स्थानीय बासिन्दाले यसलाई आफ्नो संस्कृति र पुर्खाको गौरवमय इतिहासमाथिकै ठूलो सङ्कटका रूपमा लिएका छन् ।
६०० पुराना ‘माने’ बाढीको भेलमा बिलिन
खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाका अनुसार थामे खोलामा आएको सो आकस्मिक बाढीले करिब पाँच वटा फरकफरक स्थानमा रहेका झण्डै एक हजार ५०० वटा ऐतिहासिक मानेहरू पूर्ण वा आंशिक रूपमा नष्ट गरेको छ ।
‘यी सामान्य ढुङ्गाका टुक्राहरू होइनन्,’ वडाध्यक्ष शेर्पाले भने, ‘बौद्ध धर्मको पवित्र सम्बोटा लिपिमा मन्त्रहरू कुँदिएका करिब ६०० वर्ष पुराना ऐतिहासिक मानेहरू थिए । तीमध्ये धेरैजसोलाई बाढीको भयानक लेदोले बगायो । केही मानेहरू खोलाको बगरमा यत्रतत्र छरिएका भेटिए पनि अधिकांश त बालुवा र ढुङ्गामुनि पुरिएर बेपत्ता भए ।’
केही ठूला ढुङ्गाहरूमा ‘ॐ मणि पद्मे हूँ’ लगायत बौद्ध मन्त्रहरू अत्यन्तै मिहीन र कलात्मक ढङ्गले कुँदिएका थिए । ती केबल धार्मिक आस्थाका प्रतीक मात्र थिएनन्, बरु हिमाली शेर्पा समुदायको इतिहास, कला, लिपि र पहिचानका जीवित दस्तावेज थिए, जसलाई बाढीले बगाएर लगेको उनको भनाइ छ ।
उनका अनुसार मानेः ढुङ्गा मात्र होइन, हिमाली सभ्यताको जीवन्त अभिलेख हिमाली बौद्ध समुदायमा ‘माने’को स्थान विशेष र अद्वितीय छ । प्राकृतिक रूपमा प्राप्त हुनेसम्म परेका ढङ्गाहरूमा सम्बोटा लिपि प्रयोग गरी बुद्धका शिक्षाहरू र मन्त्र कुँदेर बाटोको छेउमा, बस्तीको प्रवेशद्वारमा, गुम्बाहरूको वरिपरि तथा पवित्र तीर्थमार्गहरूमा लहरै राख्ने परम्परा शताब्दीऔँ पुरानो भएको नाम्चेका ल्हाक्पा नुरु शेर्पाले बताए ।
बौद्ध धर्मावलम्बीहरू यात्रा गर्दा वा दैनिक आवतजावत गर्दा यी मानेहरूलाई जहिले पनि आफ्नो दायाँतर्फ पारेर परिक्रमा गर्दै श्रद्धा व्यक्त गर्दछन् । यात्राको शुभारम्भदेखि अन्त्यसम्म मानेले मानिसलाई आध्यात्मिक ऊर्जा, मानसिक शान्ति र सकारात्मक सोच प्रदान गर्ने जनविश्वास रहिआएको स्थानीय जानकार स्पिडकाजी शेर्पाको भनाइ छ ।
उनले भने, ‘प्रत्येक मानेमा देखिने अक्षरहरू कुनै मेसिनले होइन, मानिसले हातैले छिना र घनको सहायताले बनाएका हुन्, तर अब थामे क्षेत्रको ती संरचनाहरु हामीसँग छैनन् ।’ इतिहासकारहरूका अनुसार हिमाली क्षेत्रमा रहेका धेरैजसो मानेहरू १५औँ र १६औँ शताब्दीदेखि निर्माण भएका थिए ।
थामेको प्रवेशद्वारमा क्षति
थामे गाउँ प्रवेश गर्ने मुख्य नाकामा बौद्ध परम्परा र वास्तुकलाअनुसार निर्माण गरिएको एउटा अत्यन्तै आकर्षक एवं भव्य धार्मिक प्रवेशद्वार रहेको थियो । थामे खोलाको भीषण बाढीले उक्त ऐतिहासिक प्रवेशद्वारलाई जोगाउन सकेन ।
त्यसको अधिकांश भाग भत्काएर बगायो । स्थानीय जानकार कर्मा शेर्पाका अनुसार उक्त प्रवेशद्वार सिङ्गो थामे गाउँको सांस्कृतिक सौन्दर्य र पहिचानको मुख्य प्रतीक थियो । सगरमाथा क्षेत्रमा आउने विदेशी पर्यटकहरू गाउँ प्रवेश गर्नासाथ यही प्रवेशद्वारको अगाडि उभिएर तस्वीर खिच्ने, यहाँको मौलिक संस्कृतिको स्वाद लिने र बौद्ध परम्पराबारे जानकारी बटुल्ने गर्दथे ।
तर, आज त्यो स्थान पहिचानविहीन जस्तै बनेको छ । ऐतिहासिक थामे गुम्बा र आसपासका संरचनामा परेको असरथामे गाउँ समुद्री सतहबाट करिब तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ । थामे खुम्बु क्षेत्रकै सबैभन्दा पुरानो (करिब ३५० वर्षभन्दा पुरानो) ऐतिहासिक थामे गुम्बाका कारणले पनि प्रसिद्ध छ ।
यद्यपि, मुख्य गुम्बाको भवन अलिकति उचाइमा रहेका कारण बाढीको प्रत्यक्ष चपेटाबाट जोगिन सफल भयो । गुम्बा परिसरका कतिपय संरचनाहरू जोखिममा परेपछि सो समयमा त्यहाँभित्र रहेका प्राचीन मूर्तिहरू, बहुमूल्य थङ्का पेन्टिङहरू र पवित्र धर्मग्रन्थलाई हतारहतार सुरक्षित स्थानमा सार्नुपर्यो ।
यसलाई स्थानीयहरूले इतिहासकै दुःखद् ‘सांस्कृतिक विस्थापन’का रूपमा लिएका छन् । हिमाली पर्यटनमा प्रत्यक्ष र दीर्घकालीन धक्का सगरमाथा राष्ट्रिय निकुञ्ज र यस आसपासको क्षेत्र विश्वकै सबैभन्दा चर्चित पदयात्रा र पर्वतारोहण गन्तव्य हो ।
यहाँ बर्सेनि आउने हजारौँ विदेशी पर्यटक केबल हिउँका टाकुरा र हिमाल हेर्न मात्र आउँदैनन्, उनीहरू त यहाँको जीवन्त शेर्पा संस्कृति, प्राचीन गुम्बा, माने, छोर्तेन, प्रार्थना चक्र तथा हिमाली बौद्ध जीवनशैलीको प्रत्यक्ष अनुभव लिनका लागि लाखौँ खर्च गरेर आउने गर्छन् ।
नाम्चेका स्थापित पर्यटन व्यवसायी तथा स्थानीय लामाकाजी शेर्पाका अनुसार यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदामा पुगेको ठूलो क्षतिले यहाँको पर्यटन व्यवसायमा गम्भीर धक्का पुर्याएको छ । ‘थामेका पुराना माने, छोर्तेन र परम्परागत धार्मिक संरचना हेर्नकै लागि धेरै विदेशी पर्यटकहरू यो मार्गमा आउने गर्थे,’ शेर्पाले चिन्ता व्यक्त गर्दै भने ।
उनका अनुसार अहिले ती ऐतिहासिक सम्पदाहरू बगिसकेपछि पर्यटकहरूले जुन मौलिक सांस्कृतिक दृश्यको अपेक्षा गरेका हुन्छन्, त्यो पाउन छाडेका छन् । यसले उनीहरूको बसाइ र अनुभव दुवैलाई खिन्न बनाएको छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको अनुपम संयोजन नै खुम्बु क्षेत्रको मुख्य विशेषता हो ।
यदि जलवायु परिवर्तनका नाममा हाम्रा सांस्कृतिक सम्पदा यसरी नै क्रमशः हराउँदै र मासिँदै जाने हो भने हिमाली पर्यटनको साख र आकर्षण भविष्यमा निकै कमजोर हुनसक्ने चिन्ता व्यवसायीहरूमा बढेको छ । पुनर्निर्माणको बाटोमा उभिएका जटिल चुनौतीहरू बाढीको विपद् कम भएपछि वडा कार्यालयले स्थानीयको सहयोगमा खोलाको बगरमा बगाएका ती मानेका ढुङ्गाहरू खोज्ने र सङ्कलन गर्ने अथक प्रयास गरेको थियो ।
केही मानेहरू फेला परे पनि अधिकांश त नदीको गहिरो बहावमा बेपत्ता भइसकेका छन् । तर, भेटिएका मानेहरूलाई पनि पहिलेकैजस्तो स्वरूपमा पुनःस्थापना गर्नु फलामको च्युरा चपाउनुसरह बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार अहिले पुनर्निर्माणको मार्गमा सबैभन्दा ठूलो चुनौती भनेको ढुङ्गामा सम्बोटा लिपि र कलात्मक मन्त्रहरू कुँद्नसक्ने दक्ष जनशक्तिको चरम अभाव हुनु हो ।
‘हाम्रा अघिल्ला पुस्तामा यस्ता ढुङ्गा कुँद्ने र मन्त्र लेख्ने कलाकारहरू (कालीगढ) गाउँगाउँमा धेरै हुनुहुन्थ्यो,’ उनले भने, ‘तर आधुनिकताको प्रभाव र बसाइँसराइले गर्दा नयाँ पुस्तामा त्यो पुरानो सीप र ज्ञान लोप हुने अवस्थामा पुगिसकेको छ । अहिले नयाँ माने बनाउन चाहेर र पैसा खर्च गर्न तयार भएर पनि ढुङ्गामा अक्षर कुँद्ने दक्ष व्यक्ति पाउनै गाह्रो छ ।’
सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार यो केवल थामे गाउँको मात्र समस्या होइन । समग्र नेपालका हिमाली क्षेत्रमा परम्परागत प्रविधिबाट ढुङ्गा कुँद्ने, धार्मिक भित्तेचित्र बनाउने र पुरानो शैलीमा काठ र माटोको काम गर्ने मौलिक जनशक्ति दिनानुदिन घट्दै गइरहेको छ ।
नेपाल र समग्र हिन्दूकुश हिमालय क्षेत्रका हिमनदी पग्लने दरबारे इसिमोड तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थाहरूले गरेका हालैका अध्ययनहरूले अत्यन्तै चिन्ताजनक र डरलाग्दो तथ्यहरू सार्वजनिक गरेका छन् । नेपालको राष्ट्रिय औसत वृद्धिः नेपालको वार्षिक औसत अधिकतम तापक्रम ०.०५६ सेन्टिग्रेडका दरले बढिरहेको छ ।
तराईको तुलनामा हिमाली क्षेत्रमा तापक्रम वृद्धि दर बढी रहेको सो अध्ययनले देखाएको छ । हिमाली क्षेत्रमा यो दर वार्षिक करिब ०.०६ सेन्टिग्रेड देखि ०.०८६ सेन्टिग्रेडसम्म मापन गरिएको छ । जलवायु विज्ञहरूले हिमाली क्षेत्रमा विश्वव्यापी तापमान वृद्धिलाई नियन्त्रण गर्न नसकिएमा आगामी दशकमा यस्ता अकल्पनीय घटना अझ बढ्नसक्ने चेतावनी निरन्तर दिइरहेका छन् ।
सगरमाथा क्षेत्रका अन्य सम्पदा पनि उच्च जोखिममा
सगरमाथा राष्ट्रिय निकुञ्ज जो युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । यस क्षेत्रभित्र पर्ने थामे, खुम्जुङ, नाम्चे, फोर्चे, पाङबोचे, दिङ्बोचे लगायत प्राचीन गाउँहरूमा सयौँ वर्ष पुराना गुम्बा, छोर्तेन र हजारौँको सङ्ख्यामा मानेहरू छन् । भौगोलिक बनोटका कारण यीमध्ये धेरैजसो सम्पदाहरू नदी र खोलाको किनार, भिरालो पदमार्ग तथा बस्तीका मुख्य नाकामा अवस्थित छन् ।
यही कारणले गर्दा जलवायु परिवर्तनका कारण निम्तिने अनियमित र अत्यधिक वर्षा, आकस्मिक हिउँपहिरो, हिमताल विस्फोट र तीव्र भू–क्षयको पहिलो र उच्च जोखिममा यिनै अमूल्य सम्पदाहरू परिरहेका छन् । जलवायुजन्य जोखिमका कारण हिमाली सभ्यताको अस्तित्व नै धरापमा परेको छ ।
सांस्कृतिक सम्पदामा परेको अदृश्य प्रभाव जलवायु परिवर्तनको यो बहुआयामिक असर केबल भौतिक संरचना वा दृश्य सम्पदामा मात्र सीमित छैन, यसले समुदायको सांस्कृतिक सम्पदामा गहिरो प्रभाव पारेको छ । शेर्पा समुदायका धेरै धार्मिक पर्वहरू, पूजाआजा, रीतिरिवाज र परम्परागत प्राकृतिक चक्रसँग प्रत्यक्ष जोडिएका छन् ।
तर जब प्रकृतिले आफ्नो स्वरूप बदल्छ र यसरी विनाशकारी रूप लिन थाल्छ, तब स्थानीय समुदायको परम्परागत धार्मिक विश्वास र पुस्तौँदेखि चलिआएको सांस्कृतिक अभ्यासमा पनि मानसिक र आध्यात्मिक विचलन आउन थालेको स्थानीय मिङ्मा शेर्पा बताउँछन् ।
थामेको यो महाविपत्तिपछि स्थानीय समुदायले बगाएका मानेहरूको पुनःनिर्माण, संरक्षण र बाँकी रहेका सम्पदाको सुरक्षाका लागि जोडदार माग गरिरहेका छन् । उनीहरूका अनुसार पुरातत्व विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय सरकार तथा अन्तरराष्ट्रिय सम्पदा संरक्षण गर्ने निकायले संयुक्त रूपमा एकीकृत संरक्षण कार्यक्रम सञ्चालन गर्न ढिला भइसकेको छ ।
सत्यपाटी