२०८३ असार १ , सोमबार 15, June 2026, Monday
सर्वोच्च अदालत

नेपालगन्जको बहुचर्चित चेतन मानन्धर हत्यामा संलग्न सातजनाको जन्मकैद उल्टियो

नेपालगन्जको बहुचर्चित चेतन मानन्धर हत्या प्रकरणमा सर्वोच्च अदालतले सात जनाको जन्मकैदको सजाय घटाएर पाँच–पाँच वर्षमा सीमित गरेको छ । मुख्य अभियुक्त रिगल ढकालमाथिको जन्मकैदको फैसला भने यथावत नै राखिएको छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १ गते सोमबार

सर्वोच्च अदालतले नेपालगन्जको बहुचर्चित चेतन मानन्धर हत्या प्रकरणमा मुछिएका सात जनाको जन्मकैदको सजाय उल्ट्याएर पाँच–पाँच वर्षमात्रै कैद सजाय हुने फैसला गरेको छ । समूहगत अपराधमा जोडिएका उनीहरू हरेकको अलगअलग भूमिका नजरअन्दाज गरी सबैलाई एकमुष्ट रूपमा जन्मकैद गर्दा चर्को हुने भनी सर्वोच्च अदालतले सात जनाको कैद सजाय घटाएर पाँच वर्षमा सीमित गरेको हो ।

२२ चैत, २०८२ मा भएको फैसलाबाट आरोपितहरू थुनामुक्त भइसकेका छन् । सर्वोच्च अदालतले गत शुक्रबार फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । त्यो घटनाका प्रमुख आरोपित रिगल ढकालमाथि ठहर भएको कसुर भने परिवर्तन भएको छैन । अपराधको आडमा फिरौती र चन्दा उठाउने दुई समूहबीचको मनमुटाव खुँडा हानाहानमा परिणत भएको थियो । जसमा २७ असार, २०७२ मा नेपालगन्जमा चेतन मानन्धरको ज्यान गएको थियो ।

त्यही घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालत, बाँकेले रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । घटनामा संलग्न भएको आरोपमा छविलाल बस्नेत, प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैदको सजाय भयो । सोहनसिंह ढकाललाई १० वर्षको कैद सजाय भयो । दीपेन्द्र मल्ल बिना हतियार घटनास्थल पुगेपनि घेरा हाल्न सघाएको भन्ने आरोपमा पाँच वर्ष कैद सजाय भएको थियो ।

जिल्ला अदालतले केशव रोकाय, प्रितम थापा, माधव परियार, मनिष चौलागाईँ, विवाद पाठक, हरि वली र यामबहादुर बुढामगरलाई तीन–तीन वर्षको कैद सजाय सुनाएको थियो । मुद्दा चलेपनि अदालतले दीपक केसीलाई सफाइ दिएको थियो । उच्च अदालत, तुलसीपुरको नेपालगन्ज इजलासले रिगल ढकालको सर्वस्वसहितको जन्मकैदको फैसलालाई जन्मकैदमा सीमित गरेको थियो, किनभने मुद्दा उच्च अदालत पुग्दा प्रचलनमा आइसकेको मुलुकी अपराध संहितामा सर्वस्वसहित सजाय हुने व्यवस्था हटेको थियो ।

उच्च अदालतले १० वर्षमात्रै कैद सजाय पाएका सोहनसिंह ढकाल, माधव परियार, मनिष चौलागाईँ, विवाद पाठक, हरि वली र याम बहादुर बुढामगरलाई जन्मकैदको सजाय सुनायो । उच्च अदालतको फैसलाविरुद्ध आरोपितहरू सर्वोच्च पुगेका थिए । तर, राजनीतिक पहुँचका आधारमा कैद छुट हुने भएपछि रिगल ढकाल, नवराज खत्री, प्रशान्त गौतम र मोहन खड्काले सर्वोच्चमा दिएको पुनरावेदनसमेत फिर्ता लिएका थिए । किनभने कैद छुटको प्रक्रिया अघि बढ्न मुद्दा टुंगिएर अन्तिम भएको हुनुपर्छ ।

तत्कालीन सरकारले अरुको साटो रिगल ढकालको कैद छुट प्रक्रिया मात्रै अघि बढाएको थियो । मुद्दाका पक्षहरूले पुनरावेदन नगरेमा वा गरेको पुनरावेदन फिर्ता लिँदासमेत कतिपय अवस्थामा तल्लो अदालतले गरेका फैसला माथिल्लो अदालतले परीक्षण गर्छ । अदालती भाषामा ‘साधन जाँच्ने’ भनिने यस्तो अभ्यास जन्मकैदको सन्दर्भमा माथिल्लो अदालतबाट हेर्ने गरिन्छ । चेतन मानन्धरको हत्याको घटनामा मुछिएका कतिपय कैदीहरूले सर्वोच्चमा पुनरावेदन दिएका थिए, भने पुनरावेदन नदिएकाहरूको हकमा सर्वोच्च अदालत आफैले ‘साधक जाँच्ने’ सिलसिलामा फैसलाको परीक्षण गरेको हो ।

न्यायाधीशहरू हरि फुयाल र मेघराज पोखरेलको इजलासले आठ जनालाई जन्मकैदको सजाय घटाएर पाँच–पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो । कसुरको मात्रा अनुसार सजाय हुनुपर्नेमा सबैलाई एकमुष्ट रूपमा जन्मकैद गर्दा चर्को पर्ने देखिएको भन्दै सर्वोच्च अदालतले चेतन मानन्धरको हत्यामा उनीहरूको भूमिका र गम्भिरताका आधारमा सजायको फैसला उल्टाएको हो । घटनामा जोडिएका रिगल ढकालमाथिको जन्मकैदको फैसला भने यथावत छ । जन्मकैदको सजाय पाएका ढकाललाई तत्कालीन प्रचण्ड सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेको भनी चर्को विरोध भएको थियो ।

सरकारको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले ३ असोज, २०८० को संविधान दिवसमा जन्मकैदको सजाय पाएका रिगल ढकालको कैद कट्टा हुने निर्णय गरेका थिए । त्यो निर्णयविरुद्ध नेपालगञ्जकी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । उनी रिगल ढकालको समूहबाट मारिएका चेतन मानन्धरकी पत्नी हुन् । सर्वोच्च अदालतले १६ कार्तिक २०८० मा राष्ट्रपतिको निर्णय बदर गरेर रिगल ढकाललाई फेरि कैद पठाउन आदेश गरेको थियो ।

सर्वोच्च अदालतले त्यो मुद्दामा कैद मिनाहाको निर्णय मात्रै रद्द गरेको थिएन, पिडितको स्वीकृतीबिना कैद सजाय भोगिरहेका कसुरदारको कैद कट्टा गर्ने कानुनी व्यवस्था नै परिमार्जन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो । रिगल ढकालको जन्मकैद कट्टा गर्ने निर्णय गर्नुभन्दा पहिले पीडितलाई जानकारी नदिइएको, पीडितको मञ्जुरी नलिएको भन्दै सर्वोच्च अदालतले पीडितको न्याय पाउने हकलाई बेवास्ता गर्न नहुने व्याख्या गरेको थियो ।

तत्कालीन कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले तयार पारेको पूर्णपाठमा भनिएको थियो, ‘सजाय घटी वा कम गर्दा पीडित पक्षको सहमति वा मञ्जुरी लिनु वाञ्छित हुनजान्छ । यसरी लिइने सहमति पीडितलाई सामाजिक पुनस्र्थापना र क्षतिपूर्तिको व्यवस्थासँग अन्तर–सम्बन्धित हुन्छ ।’ सर्वोच्च अदालतले माफी मिनाहा गर्नुपरेमा पीडितको सहमति, पीडितलाई क्षतिपूर्ति र सामाजिक पुनस्र्थापना गरिएको विषय, सार्वजनिक नीति र सामाजिक स्वार्थ, कैद भुक्तान गरेको अवधि, कसूरको गम्भीरता ध्यान दिन भनेको थियो । सर्वोच्च अदालतको फैसलापछि कैद छुट दिँदा पिडितको सहमतिलाई अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार