२०८३ वैशाख २१ , सोमबार 4, May 2026, Monday

चर्को बत्ती वरपरका मकैमा किन लाग्दैन घोगा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २१ गते सोमबार

राति झिलिमिली सडक बत्तीले चम्किएको राजमार्ग । होटल र रिसोर्ट वरपर सजावटका लागि राखिएको बत्तीले उज्यालो पारिएका रुख । खेतको डिलमै राखिएका कडा एलइडी बत्ती । आधुनिक विकास र सौन्दर्यको प्रतीक मानिने यस्ता दृश्यले अहिले वातावरण मात्रै होइन, खेती प्रणालीलाई समेत प्रभावित पार्न थालेका छन् ।

हामीले बाल्ने बत्तीका कारण कृषि उत्पादन घट्न सक्छ भन्ने कुरा धेरैलाई अस्वाभाविक लाग्न सक्छ । तर पछिल्ला वर्षहरूमा सडक, होटल, रिसोर्ट, बजार तथा खेतीयोग्य क्षेत्रवरपर रातभरि बल्ने कडा प्रकाशयुक्त बत्तीका कारण कृषि उत्पादनमै असर देखिन थालेको विज्ञहरूले बताएका छन् । विकास, सुरक्षा र सौन्दर्यका नाममा बढ्दो कृत्रिम उज्यालोले प्रकृतिको स्वाभाविक चक्रमा हस्तक्षेप गर्दै जैविक विविधता र खाद्य उत्पादन दुवै क्षेत्रमा चुनौती सिर्जना गरिरहेको उनीहरूको भनाइ छ ।

गाउँदेखि सहरसम्म सडक किनार, घर, होटल, रिसोर्ट तथा जङ्गल आसपासका क्षेत्रमा झिलिमिली बत्ती राख्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ । व्यापार प्रवर्धन, सुरक्षा तथा जङ्गली जनावरबाट बच्ने उद्देश्यले रातभर तेज प्रकाश बाल्ने चलन सामान्यजस्तै बनेको छ । तर यसले रातको प्राकृतिक वातावरणलाई प्रभावित बनाउँदै चरा तथा अन्य जीवजन्तुको जीवनचक्रमा असर पारिरहेको अध्ययनकर्ता बताउँछन् । त्यसको प्रत्यक्ष प्रभाव कृषि क्षेत्रमा देखिन थालेको छ ।

विशेषगरी जङ्गल र नदी किनारलाई आकर्षक र सुरक्षित देखाउन रिसोर्ट निर्माण गरी रुखमा सजावटी बत्ती राख्ने चलनले नजिकैका खेतीबाली प्रभावित भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत कृषि वैज्ञानिक घनश्याम भण्डारीका अनुसार सडक किनारमा रातभर बल्ने तेज प्रकाशका कारण नजिकै लगाइएका बालीमा उत्पादन घट्ने समस्या देखिएको छ । उनले विशेषगरी मकैमा यसको असर गम्भीर रूपमा देखिएको बताए ।

‘मकैको बोट अस्वाभाविक रूपमा अग्लो हुने तर घोगा नलाग्ने, परागसेचन प्रभावित हुने र दाना नलाग्ने समस्या देखिएको छ,’ उनले भने, ‘चर्को बत्ती भएका सडकको चार मिटर आसपाससम्म मकैमा घोगा नलागेको पाइएको छ ।’ चितवनको भरतपुर क्षेत्रमा उत्पादन गरिने रामपुर–१० हाइब्रिड जातको मकैमा यस्तो समस्या देखिएको उहाँले जानकारी दिए । किसानले ‘मकै अग्लो भयो तर घोगा लागेन’ भन्ने गुनासो गरेपछि अनुसन्धान टोली स्थलगत निरीक्षणमा पुगेको थियो ।

त्यस क्रममा रातभर बल्ने चर्को प्रकाशका कारण बाली प्रभावित भएको पुष्टि भएको उनले बताए । ‘कृत्रिम उज्यालोका कारण बिरुवाले दिन र रातको सन्तुलन छुट्याउन सक्दैन,’ उनले भने, ‘बालीलाई उज्यालोसँगै निश्चित समय अँध्यारो पनि आवश्यक हुन्छ ।’ उनका अनुसार उज्यालोका कारणले मकैमा भाले भागमा पराग भए पनि पोथी भागको जुँगा सक्रिय नहुने समस्या देखिएको छ । त्यसले परागसेचन प्रक्रिया अवरुद्ध बनाउँछ र अन्ततः उत्पादन घट्छ ।

फूल फुल्ने समयमा लामो अँध्यारोपन आवश्यक पर्ने बालीमा रातभरको कृत्रिम प्रकाशले प्रकाश संश्लेषण र वृद्धि प्रक्रियालाई असन्तुलित बनाइदिएको उनको भनाइ छ । ‘कुनै बालीको परागसेचनका समयमा बढी उज्यालो आवश्यक हुन्छ भने कुनै बालीलाई कम,’ भण्डारीले भने, ‘त्यो सन्तुलन नमिल्दा उत्पादनमा प्रत्यक्ष असर पर्छ ।’ कृषि क्षेत्रमा देखिन थालेको यो समस्या केवल उत्पादन घट्ने विषय मात्रै नभई प्रकृतिको आधारभूत चक्रमा भइरहेको हस्तक्षेपको सङ्केत भएको विज्ञहरू बताउँछन् ।

खेती प्रणाली प्रकृतिको तालमेलमा आधारित हुन्छ । दिन रात, घाम छायाँ र मौसमको नियमित चक्र अनुसारै बिरुवाले आफ्नो वृद्धि र प्रजनन प्रक्रिया सञ्चालन गर्छन् । लामो समयदेखि कृषि विकासको क्षेत्रमा क्रियाशील कृषि प्रसार अधिकृत कृष्ण धितालले भने, ‘मानिसले सिर्जना गरेको अत्यधिक कृत्रिम उज्यालोले यही प्राकृतिक लयलाई बिथोल्न थालेको छ ।’ अहिले सहरदेखि ग्रामीण क्षेत्रसम्म रातको अन्धकार क्रमशः हराउँदै गएको छ । सडक विस्तारसँगै सडकबत्ती बढेका छन् ।

होटल, रिसोर्ट र व्यावसायिक भवनमा सजावटी प्रकाश प्रयोग तीव्र बनेकोमा धेरैले चासो दिन सकेका छैनन् । यसले अन्न उत्पादनमा ह्रास ल्याएको धितालले उल्लेख गरे । कृषि वैज्ञानिकहरू आवश्यकभन्दा बढी प्रयोग हुने यस्तो उज्यालो दीर्घकालीन रूपमा खाद्य सुरक्षाकै लागि चुनौती बन्न सक्ने चेतावनी दिन्छन् । ‘उज्यालो आवश्यक छ,’ नार्कका वैज्ञानिक भण्डारीले भने, ‘तर प्रकृतिको सन्तुलन बिगार्ने गरी गरिएको अत्यधिक उज्यालो अन्ततः मानिसकै लागि समस्या बन्न सक्छ ।’

प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार