२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

काँक्रा चोरेको भन्दै बालकलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८३ वैशाख १७ गते बिहीबार

कञ्चनपुरको वेदकोट नगरपालिका–५ पोल्खरीमा नौ वर्षीय बालकलाई हात खुट्टा बाँधेर निर्घात कुटपिट भएको छ । वेदकोट नगरपालिका–३ दैजीका नौ वर्षीय बालक राजेश भण्डारीलाई पोल्खरीका ३६ वर्षीय भोज नाथले काँक्रा चोरेको आरोपमा हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन् ।

बुधबार दिउँसोको घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटना बाहिरिएको हो । भिडिओमा बालकको हात डोरीले पछाडी बाँधिएको छ भने खुट्टा पनि बाँधिएका छन् । हातखुट्टा बाँधेर कुटिएका ती बालक रक्ताम्य भएको सो भिडिओ पीडित परिवारले प्रमाणका रुपमा जाहेरीका साथ प्रहरीलाई दिएको छ ।

बालक पोल्खरीस्थित चौधर नदी किनारको बगरमा गाईबस्तु चराउने र क्रिकेट खेल्नका लागि साथीभाई सँगै गएका थिए । क्रिकेट खेल्ने क्रममा बल चौधर नदीमा गएपछि बल लिन गएका बेला काँक्राबारी हुँदै गइरहेको देखेपछि नाथले बालकलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घाइते बालककी हजुरआमा नन्दा मेहताले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

मेहताले कुटपिट गर्ने नाथविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी छन् । ‘नाबालकको दुवै हात पछाडीतिर र दुवै खुट्टा डोरीले बाँधेर भुईमा लडाई ढुंगा, लठ्ठी र लात मुक्काले रक्ताम्य हुने गरि बेहोस बनाइ यसलाई मार्नुपर्छ भनि घरमा बाँधेको कुकुर फुकालेर टोकाएको छ,’ जाहेरीमा लेखिएको छ । त्यसपछि बालकलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

बालकको आमा ममता भण्डारी र बुवा रोजगारीका लागि भारतमा छन् । बालक पोल्खरीस्थित मामा घरमा बस्दै आएका छन् । घाइते बालकलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार बालकमाथि अमानवीय व्यवहार गर्ने नाथलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार