२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

सरकारी अनुदानबाट बञ्चित ‘दूध उत्पादनको गाउँ’ हल्कारापूर्वा

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २० गते शुक्रबार

बाँकेको डुडुवा गाउँपालिका–३ अन्तरगत पर्ने हल्कारापूर्वामा बिहानको सुरुवात अरू गाउँभन्दा फरक ढंगले हुन्छ । घाम नउदाउँदै गाउँ अझै निद्रामै हुन्छ, तर गोठहरू भने जागिसकेका हुन्छन् ।

भैँसीको घण्टी बज्ने आवाज, दूध दुहिने गाग्रीको टनटनाहट र खेततिर लाग्ने किसानका पाइला यिनै आवाजले यो गाउँको पहिचान बनाएका छन् । केवल ३४ घरपरिवार रहेको यस यादव बस्तीमा अहिले ६०० भन्दा बढी भैँसी छन् । यहाँ भैँसी नपाल्ने घर भेटिनु दुर्लभ छ ।

यही कारण स्थानीयले हल्कारापूर्वालाई ‘दूध उत्पादनको गाउँ’ भनेर चिनाउन थालेका छन् । गाउँबाट मात्रै दैनिक करिब ६०० लिटर दूध बजार पुग्ने गरेको छ, जसले यहाँको मुख्य आयस्रोतको रूपमा भैँसीपालनलाई स्थापित गरेको छ ।

बिहान ३ बजेदेखि सुरु हुने जीवन

हल्कारापुर्वाका रामसोहन यादवको दिन बिहान ३ बजेबाटै सुरु हुन्छ । उमेरले ६ दशक पार गरिसक्दा पनि उनको दैनिकी अझै भैँसीकै वरिपरि घुम्छ । पुस्तौँदेखि चल्दै आएको पेशालाई निरन्तरता दिँदै उहाँ अहिले पनि ठूलो संख्यामा भैँसी पालिरहेका छन् ।

उनीसँग पाडापाडीसहित १५० भैँसी छन्, जसमध्ये ५२ वटा दुहुना छन् । उनको घरबाट मात्रै दैनिक ३०० लिटर दूध कम्दीस्थित मिलनचोक बजार पुग्छ । यति ठूलो व्यवस्थापनका लागि परिवारका सबै सदस्य खटिएका छन्, छोराछोरीदेखि बुहारी र नातीनातिनासम्म ।

युवाको रोजाई, ‘परम्परागत पेशा’

हल्कारापूर्वाको अर्को विशेषता भनेको यहाँका युवाहरूको भैँसीपालनप्रतिको आकर्षण हो । ३१ वर्षीय विष्णुप्रसाद यादवसँग १९ वटा मुर्रा भैँसी छन् । उनका अनुसार भैँसीपालनबाट हुने आम्दानी जागिरभन्दा बढी छ ।

‘जागिर गर्दा अर्काको आदेश मान्नुपर्छ, यहाँ आफ्नै काम हो,’ उनी भन्छन्, । हल्कापूर्वाकै रामफेरन यादवले पनि तीन दर्जनभन्दा बढी भैँसी पाल्दै आएका छन् । सानैदेखि सिकेको पेशा भएकाले उहाँलाई यही काम सजिलो र भरपर्दो लाग्छ ।

मुर्रा भैँसीतर्फ बढ्दो आकर्षण

गाउँमा अहिले स्थानीय जातभन्दा मुर्रा भैँसीतर्फ किसानको आकर्षण बढ्दो छ । बढी दूध दिने भएकाले किसानहरू क्रमशः मुर्रा जाततर्फ सर्दै गएका छन् । रामफेरनले डेढ लाख रुपैयाँमा मुर्रा भैँसी खरिद गरेको बताउँछन् । ‘किन्दा महँगो पर्छ, तर दूध धेरै दिने भएकाले छिट्टै लगानी उठ्छ,’ उनको भनाइ छ । उनको घरबाट मात्रै दैनिक ५० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ ।

प्राकृतिक स्रोतले दिएको सहजता

हल्कारापूर्वाका किसानलाई चरिचरनको ठूलो समस्या छैन । हिउँद र बर्खामा उनीहरू गोठलाई गाउँबाट करिब १० किलोमिटर टाढा खजुरागौडी जंगल क्षेत्रमा सार्छन् । नजिकै बग्ने डुडुवा खोलाले भैँसीपालनलाई अझ सहज बनाएको छ । खोलामा भैँसी आहाल बस्न पाउँछन् र पानीको अभाव हुँदैन ।

सरकारी अनुदानबाट टाढा

यति ठूलो परिमाणमा दूध उत्पादन हुने गाउँ भए पनि किसानहरू सरकारी सेवा–सुविधाबाट भने अझै टाढा छन् । स्थानीय दिनेशप्रसाद यादवका अनुसार किसानका लागि भनिने अनुदान गाउँसम्म आइपुगेको छैन ।

फार्म दर्ता, पान नम्बर र लेखापरीक्षणजस्ता प्रक्रियाले किसानलाई झन् अप्ठ्यारो बनाएको छ । ‘हामी दिनभर भैँसी चराउने मान्छे, यी कागजात मिलाउने समय र पहुँच कहाँ हुन्छ ?’ उनको गुनासो छ ।

परिवर्तनको प्रतीक्षामा

देशमा सरकार फेरिए पनि हल्कारापूर्वाका किसानको जीवनमा खासै परिवर्तन आएको छैन । पुस्तौँदेखि भैँसीपालन गरेर जीवन धानिरहेका उनीहरू अहिले पनि सरकारी सहयोग र नीतिगत सुधारको प्रतीक्षामा छन् ।

हल्कारापूर्वाको कथा केवल एउटा गाउँको कथा होइन । यो मेहनत, परम्परा र आत्मनिर्भरताको जीवन्त उदाहरण हो, जहाँ भैँसीको घण्टीसँगै गाउँको अर्थतन्त्र चलिरहेको छ, तर सरकारी पहुँच अझै पुग्न बाँकी छ ।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार