आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । यो साता सुनको मूल्यमा लगातार वृद्धि भएको हो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ पाँच हजार २०० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा तीन लाख नौं हजार ३०० रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । यस्तै चाँदीको मूल्य पनि आज तोलामा १०५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।
हिजो सोमबार चाँदी तोलाको ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदीको भाउ प्रतितोला ६ हजार ४८० रुपैयाँ थियो । अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
