२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

नेपालमा किन घट्यो ईभी आयात ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ८ गते बिहीबार

पछिल्लो समय विद्युतीय गाडी (ईभी) आयात घट्दै गएको छ । यसवर्ष चीनसँगको मुख्य दुई व्यापारीक नाकामा भएको अवरोधका कारणले नेपालमा ईभी आयात घटेको सरोकारवालाहरुले बताएका छन् ।

भन्सार विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पुससम्म चार पांग्रे विद्युतीय गाडी (ईभी) १२ अर्ब पाँच करोड ४५ लाख रुपैयाँको पाँच हजार ७१ थान आयात भएको छ ।

यो आयात गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको सोही अवधिमा नेपालमा कुल १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको पाँच हजार ४८० थान इभी आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

गत असार २३ मा तिब्बतको ल्हेन्दे खोलामा आएको बाढीले मित्तेरी खोलको पुल बगाएपछि रसुवा नाका ठप्प हुँदा र पहिरोका कारण केही समय तातोपानी नाका समेत ठप्प हुँदा यसवर्ष ईभी आयातमा कमी आएको रसुवा भन्सारका अधिकृत ठाकुर गौतमले जानकारी दिए ।

यद्यपी, उक्त खोलामा चीनले अस्थायी बेलिब्रिज निर्माण गरेपछि करीब ६ महिना पछि गत पुस दोस्रो साता देखि नाका पुनः सुचारु भइसकेको छ भने तातोपानी नाकापनि सुचारु नै छ । तर, लामो समय नाका बन्द हुँदा त्यसको असर ईभी आयातमा कमी देखिएको गौतमले बताए ।

उनका अनुसार अहिले रसुवा नाकाबाट सातामा २०–२५ वटादेखि ५० वटा सम्म ईभी आयात हुने गरेका छन् । आयात भएका ईभीहरू भन्सार क्षेत्रमा राखी बिलिङ तथा पास प्रक्रिया पूरा भएपछि बजारतर्फ पठाइने गरिएको उनले बताए । हाल रसुवामा नयाँ ड्राइपोर्ट निर्माणको काम भने सुरु भइसकेको छैन । अहिले उपलब्ध ड्राइपोर्ट क्षेत्रलाई सरसफाइ तथा व्यवस्थापन गरेर नै प्रयोगमा ल्याइरहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार