२०८३ मंसिर ८ , मंगलबार 25, November 2026, Wednesday

अनलाइन किनमेलको रोचक दृश्य : एक लाखको कण्डम, १० रुपैयाँको छपाइ सामग्री

इ कमर्श प्लेटफर्मको सहयोगले ग्राहकलाई उनीहरूले खोजेका सामान आफ्नै दैलोमा प्राप्त त भइरहेका छन् तर यसले उनीहरूको किनमेल सम्बन्धी गोप्य तथा अनौठा आनीबानी समेत उदांगो हुन थालेका छन् ।

भारतमा खुद्रा सामान विक्री तथा डेलिभरी गर्ने एक प्रमुख अनलाइन किनमेल प्लेटफर्म स्विग्गी इन्स्टामार्टले सार्वजनिक गरेको एक रिपोर्टले ग्राहकहरूका निकै रोचक तथ्यहरू सार्वजनिक गरिदिएको छ ।

स्वग्गीको सन् २०२५ को वर्षान्त प्रतिवेदन अनुसार भारतीयहरूले दूध र तरकारीदेखि सुन र आइफोन जस्ता महँगा सामान समेत मानिसहरूले अनलाइनमै किनमेल गर्न थालेका छन् । तर अनलाइनमा अर्डर गरेका सुन र आइफोनभन्दा चेन्नईका एक ग्राहकले गरेको किनमेलको सबैभन्दा बढी चर्चा भएको छ ।

रिपोर्ट अनुसार ती व्यक्तिले यो वर्ष सन् २०२५ मा अनलाइनमार्फत् कण्डम खरिदमै १ लाख भारू भन्दा धेरै खर्च गरेका छन् । उनले स्विग्गी इन्टामार्टमा वर्षभर गरेर २२८ पटक कण्डम अर्डर गरे । त्यसबापत उनले भारु १ लाख ६ हजार ३९८ रूपैयाँ भुक्तान गरे ।

स्विग्गीको रिपोर्ट अनुसार उसको प्लेटफर्मबाट किनमेल गर्ने सामानमध्ये सबैभन्दा लोकप्रिय प्रोडक्ट कण्डम नै बनेको छ । त्यहाँ हरेक १२७ अर्डरमध्ये एउटा कन्डम हुने गरेको छ । गत सेप्टेम्बरमा कण्डमको विक्रीमा २४ प्रतिशतले उछाल आएको थियो ।

त्यसैगरी दैनिक आवश्यकताका खाद्य सामानमा चाहिँ दूध सबैभन्दा लोकप्रिय बन्यो । इन्स्टामार्टमा हरेक सेकेण्डमा दूधका चारवटा प्याकेटको अर्डर आयो । कम्पनीका अनुसार वर्षभरमा उसले विक्री गरेको दूधलाई एकैठाउँमा जम्मा गर्ने हो भने ओलम्पिक आकारका २६ हजार वटा पौडी पोखरी भरिन्थे ।

रिपोर्ट अनुसार भारतीयहरूले घरपालुवा जनावरका खानेकुराका साथै प्रोटिन र सुनमा पनि मन खुलाएर खर्च गर्ने गरेको पाइएको छ । चेन्नइका एकजना व्यक्तिले आफ्नो घरमा पालेका कुकुर, बिरालोका सामानका लागि एक वर्षमा २४ लाख भारु भन्दा धेरै खर्च गरेका छन् ।

त्यस्तै नोएडाका एकजना व्यक्तिले वर्षदिनमा २८ लाख भारुको प्रोटिन सप्लिमेन्ट किनेका छन् भने मुम्बइका एक व्यक्तिले १५ लाख भारु भन्दा धेरैको सुन अनलाइनबाट किनेका छन् । अनलाइनबाट भारी रकमको सामान खरिद गर्ने मान्छे मात्र होइन निकै कञ्जुस भएर नगन्य मात्रामा किनमेल गर्ने ग्राहक पनि हुँदा रहेछन् ।

एकजना व्यक्तिले यो वर्षभरमा स्विग्गी इन्स्टामार्टबाट केवल १० रुपैयाँ भारुको एउटा छपाइ सामग्री खरिद गरे । त्यो खरिद स्विग्गीको इतिहासमा कुनै पनि ग्राहकले वर्षभरमा गरेको सबैभन्दा सानो अर्डर भएको कम्पनीले जनाएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार