२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

सिम्ता गाउँपालिकाका तत्कालिन अध्यक्षसहित आठ जनालाई बयानका लागि बोलाइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालिन अध्यक्ष कविन्द्रकुमार केसीसहित आठ जनालाई बयानका लागि बोलाएको छ । सिम्ता गाउँपालिकाकाको प्रशासनीक भवन निर्माणका लागि फिल्ड खन्ने काममा टेण्डर बिनै उपभोक्ता समितिबाट भुक्तानी दिएको भन्दै उजुरी परेपछि उनीहरुलाई बयानका लागि बोलाइएको हो ।

बयानका लागि बोलाइनेहरुमा गाउँपालिकाका तत्कालिन अध्यक्ष कविन्द्रकुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, कार्यवाहक अध्यक्ष तेजविक्रम शाही, वडाध्यक्ष राजेन्द्र सिंह ठकुरी, उपभोक्ता समितिका सभिव हिमाकुमारी सिंह, लक्ष्मण कन्स्ट्रक्सन सुर्खेतका लक्ष्मणप्रकाश पोख्रेल, अनुगमन समितिका तुल्सी खत्री र विन्दबहादुर अधिकारी रहेका छन् ।

गाउँपालिकाकाको प्रशासनीक भवन निर्माणका लागि फिल्ड खन्ने काममा टेण्डर गर्नुपर्नेमा सो कार्य नगरी दुई चरणमा उपभोक्ता समितिबाट भुक्तानी दिई सरकारी हानी नोक्सानी र हिनामिना गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा उल्लेखित पदाधिकारीको बयान दिनुपर्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतमा उपस्थित हुन भनिएको छ ।

यसअघि पनि अख्तियारले सुर्खेतको सिम्ता गाउँपालिका–५ स्थित आली भन्ने स्थानमा निर्माण भएको हाइटेक नर्सरीमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसीसहित ११ जनाविरुद्ध ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

अनुसन्धान हुँदा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ को उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता भएको भेटिएको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल, तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्री, सिम्ता सब–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकार र भोजप्रसाद उपाध्याय, सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकाश थापा, उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल, नाफ सिड्स प्रालीका सञ्चालक गौतम महर्जन र सिम्ता गाउँपालिका–५ का तत्कालिन वडाध्यक्ष मोहनकुमार बिसीलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार