पुस महिना सुरु भएसँगै बाँके लगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझा नेपालगन्जका अनुसार, मङ्गलबार नेपालगन्जको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अधिकतम तापक्रम ११ डिग्री सेल्सियम मापन गरिएको थियो ।
बिहान बाक्लो हुस्सुसँगै दिनभरी पनि घाम नलागेपछि बढेको चिसोका कारण बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित हुन थालेका छन् । चिसोका कारण बिहानै खुल्ने पसल र बजार पनि केही ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।
न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण नागरिकहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् । तापक्रम घटेसँगै बिहान र बेलुकाको समयमा यहाँ चिसो बढ्दै गएपछि बजारमा नागरिकको चहलपहल घट्न थालेको छ भने न्यानो हुनका लागि सर्वसाधारणहरुले आगो ताप्न सुरु गरिसकेका छन् ।
चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार अहिले दैनिक आउने बिरामीमध्ये अधिकांश चिसोले समस्या भएर आउने गरेका छन् ।
चिसो बढ्दा घाँटी, टाउको र छाती दुख्ने, रुघाखोकी लाग्नेजस्ता चिसो जन्य सङ्क्रमणका बिरामी बढेका चिकित्सकले बताएका छन् । चिसोले वृद्धवृद्धा र केटाकेटी बढी प्रभावित भएका छन् भने बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ । दिउँसो अलिअलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्न समस्या पारेको मजदुरहरु बताउँछन् ।
बाँके डुडुवा गाउँपालिका–६ का जयपाल मौर्यले जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताए । ‘दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आफुहरूका लागि जाडो मौसम सधैँ कष्टदायक हुन्छ,’ उनले भने । चिसोको कहरले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका विपन्न परिवारका नागरिकको अवस्था कष्टकर बनेको छ ।
चिसोको समयमा सकेसम्म घरभित्रै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् । चिकित्सकहरुले यो समयमा न्यानो कपडा लगाउन, सुरक्षितसँग आगो तापेर बस्न र ताता तथा पोसिला खानेकुरा खान सुझाव दिनुभएका छन् । हुस्सु लाग्न सुरु भएसँगै तराई क्षेत्रका किसान दलहन तथा तेलहन बाली र तरकारी खेती प्रभावित हुने भन्दै चिन्तित बनेका छन् ।
सत्यपाटी