२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

बाँकेमा कालानमक धानको संरक्षण गर्दै गंगानारायण

लगानी अनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि लोप हुने अवस्थामा पुगेको कालानमक धानको संरक्षणका लागि बाँके बैजनाथका कृषक गंगानारायण चौधरी सक्रिय भएका छन् ।

कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान चौधरीले गत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गरेर धान संरक्षण गर्दै आएका हुन् ।

यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धान खेतीबाट ४० क्वीन्टल कालानमक धान उत्पादन भएको चौधरीले बताए । उनले उत्पादन अझ धेरै हुने अनुमान गरिए पनि अन्य धान स्याहारी सकेकाले कालानमक धानमा चरा, मुसा र किराको सङ्क्रमण बढेर समस्या हुँदा यति उत्पादन भएको बताए ।

‘कालानमक चामल बिक्रीमा कुनै समस्या छैन । बजारमा लैजादा राम्रो मूल्यमा बिक्री हुने गरेको छ,’ किसान चौधरीले भने । उनका अनुसार अन्य धान करिब तीन हजार ५०० रुपैयाँ क्वीन्टलमा बिक्री हुँदा कालानमक भने प्रतिक्विन्टल दश हजार रुपियाँमा बिक्री हुने गरेको छ । यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्र काट्न तयार हुन्छ ।

‘सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम बढी हुन्छ,’ किसान चौधरीले भने । बाँकेमा किसानले रैथाने धानको तुलनामा धेरै फल्ने र छिट्टै पाक्ने रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको हाइब्रिड धान रोप्दै आएका छन् ।

किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत रैथाने कालानमक धानको जात हराउँदै गएको छ । सिँचाइ र स्याहार सुसार बढी गर्नुपर्ने र रोग तथा किराको प्रकोप बढी देखिने भएकाले कृषकहरु यसको साटो हाइब्रिड धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार विगतमा बाँके र बर्दियामा यसको राम्रै खेती हुन्थ्यो, अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागेका छन् । बाँकेमा कालानमकको खेती शून्यप्रायः भएपछि अहिले यसको प्रवर्धन र प्रचारमा लागेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी पाठकका अनुसार कालानमक धानको संरक्षणका लागि कृषि ज्ञान केन्द्रले कृषकस्तरमा लगाएर प्रचार प्रसारको थालनी गरेको छ । कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ–८ टिटिहिरियामा प्रयोग गरिएको पाठकले बताए ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार