२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला

बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन् । सङ्क्रमितध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् । आर्थिक वर्ष २०८१–०८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेका छन् । शाहले पछिल्लो समय जनचेतनामूलक कार्यक्रम लगायतका कारण एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको जानकारी दिए ।

बाँकेमा रहेका एचआइभी सङ्क्रमितहरुले भेरी अस्पताल, नेपालगन्जबाट निःशुल्क औषधि पाइरहेको शाहले बताए । ‘बाँकेका विभिन्न स्थानमा रहेका स्वास्थ्य चौकीमा पनि एचआइभी परीक्षण हुन्छ तर अन्तिममा भेरीमा परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुगिन्छ,’ उनले भने । जिल्लामा आव २०८०–०८१ मा १०१ जना एचआइभी सङ्क्रमित फेला परेका थिए । जिल्लामा १० हजार ७५९ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका थिए ।

त्यसअघिको आव २०७९–०८० मा १०९ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त आवमा १७ हजार ३२८ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका थिए  । फोकल पर्सन शाहले बाँकेमा आव २०८१–०८२ मा ६१३ जना एचआइभी सङ्क्रमित भेरी अस्पतालमा ‘एआरटी’ उपचारमा रहेको बताए ।

त्यसैगरी पिएमटिसिटी कार्यक्रम अन्तर्गत २८ हजार २३४ जना गर्भवती आमाहरूलाई एचआइभी जाँच गर्दा नयाँ एचआइभी सङ्क्रमित नभेटिएको बताइएको छ । भेरी अस्पताल नेपालगन्जमा गत आव २०८०–०८१ मा सात जना एचआइभी सङ्क्रमित महिलाले स्वस्थ बच्चा जन्माएका थिए भने अघिल्लो आवमा पाँच जना सङ्क्रमितले स्वस्थ बच्चा जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार