कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो । नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवस्थित रूपादेवी माविले गणित विषय शिक्षकका लागि १८ पटकसम्म विज्ञापन गरे पनि पाउन सकेको छैन ।
अछामको रामारोसनसँग सिमाना जोडिएको दुर्गमको यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९औँ पटकको विज्ञापन गरेको छ । वैशाखयता १५–१५ दिनको फरकमा १८ औँ पटक विज्ञापन गर्दा पनि दर्खास्त परेन । विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले गणितका शिक्षक पाउनै मुस्किल भएको बताए ।
गत कात्तिक ३० गते विद्यालयले १९ औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको शिक्षक पाउन कठिनाइ भएको प्रअ बुढाको भनाइ छ । ९० प्रतिशत दलित समुदायको बसोबास रहेको उच्छवबाट नजिकको अर्को विद्यालय पुग्न दुई घण्टा जङ्गलको बाटो हिँड्नु पर्छ ।
विद्यालय टाढा भएपछि स्थानीयले मानापाथी उठाएर २०३५ सालमा स्थापना गरेको रूपादेवी विद्यालयमा बाल विकासदेखि १० कक्षासम्म ३७५ जना विद्यार्थी अध्यानरत छन् । तीन प्रावि स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजी स्रोत गरी १३ जना शिक्षक कार्यरत छन् ।
यस्तै शुभकालिका गाउँपालिका–२, बालाचौरस्थित कालिका माविले अघिल्लो शैक्षिक सत्रका लागि मावि तह विज्ञान विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दासम्म अध्यापन अनुमतिपत्र भएको एक जनाले पनि दर्खास्त दिएनन् । पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि बिनालाइसेन्सको विज्ञान शिक्षक भर्ना गरेर विद्यालयले अध्यापन गराउँदै आएको छ ।
