२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

विवाहपञ्चमी महोत्सव : आज मटिहानीमा ‘मटकोर’

मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’ विधिको तयारी थालिएको छ । जनकपुरधाममा महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो ।

यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार (मंसिर १० गते) परेको छ भने ‘मटकोर’ एक दिन पहिले सोमबार (मंसिर ९ गते) सम्पन्न गरिनेछ । सातदिने महोत्सवमा नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भएका छन् ।

मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिने लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले बताए । त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ ।

सोही विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले ‘मटकोर’ उत्सव मनाइँदै आइएको उनले बताए । डा.वैष्णवले मटिहानी नगरवासी र नेपाल–भारतका सन्तहरू ‘मटकोर’ उत्सवमा सम्मिलित हुँदै आएको बताए । मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ । माटो खन्न जाँदा बाजागाजासहित महिलाले पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ ।

राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले भूमि पूजनको भाव पृथ्वीसँग माटो खन्ने अनुमतिका लागिको प्रार्थना भएको बताए । मटिहानीमा ‘मटकोर’ उत्सवसँगै विवाह उत्सवमा सरिक हुन आउने भारतीय साधुसन्तको स्वागत, भोजन र आवास प्रबन्ध गरिन्छ । भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्त विवाहको एक दिनअघि मटिहानी बास बसेर भोलिपल्ट जनकपुरमा सम्पन्न हुने विवाह महोत्सवमा सरिक हुन पुग्ने पुरानो चलन छ ।

रामजानकी विवाहको साताव्यापी महोत्सवमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन स्वयम्बर तथा विवाह र अन्तिम सातौँ दिन रामकलेवा विधिको परम्परा छ । यो सांस्कृतिक महोत्सव मिथिलाको विशिष्ट परम्परा रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णले बताए ।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार