२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्जमा आज सम्पन्न ११ औँ नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कबहादुर खड्काले जितेका छन् । खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गरेका थिए ।

उनी गत संस्करणका पनि विजेता हुन् । उनले रु दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने दुई घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गर्दै नेपाल सेनाकै सुशीलकुमार शाही दोस्रो भएका छन् ।

त्यस्तै दुई घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दूरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भए । दोस्रो भएका शाही र तेस्रो भएका पार्कीले क्रमशः रु एक लाख र ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।

हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् । उनी पाँचौँ संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसँगै रु ७५ हजार पुरस्कार हात पारिन् । यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फूलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भएकी छन् ।

प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार