स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । आज विशेष अदालत, काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध मुद्दा दर्ता गराएको हो ।
अख्तियारले स्वास्थ्य कार्यालय, बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंह, शिक्षा विकास तथा समन्वय इकाई, बाजुराका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब–इन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दर्ता भएको हो ।
उनीहरूविरुद्ध जिल्ला बाजुरा, हिमाली गाउँपालिका, वडा नं. ६ स्थित प्रसूति केन्द्र भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको आरोप रहेको छ । सोही कारण निर्मित संरचनासमेत भग्नावशेषको अवस्थामा रहेको छ ।
२६ लाख १५ हजार २०६ रुपैयाँमा वि.सं.२०७६ जेष्ठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी स्वास्थ्य कार्यालय, बाजुरा र प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिबीच सम्झौता भएको थियो । अनुमानमा उल्लिखित दररेटको नै झुट्ठा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी रु. १५ लाख आठ हजार ५५७ पूरै भुक्तानी लिएको देखिएको छ ।
