२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

सिमरामा फेरि झडप, आज पनि कर्फ्यू

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप सुरु भएको छ । आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा बिहीबार पनि कफ्र्यु लगाएको छ । प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले कफ्र्यु जारी गरेको हो । स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

उनीहरु बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । बिहीबार एमालेका कार्यकर्ताको आक्रमणबाट जेनजी बाराका संयोजक सम्राट उपाध्याय घाइते भए । झडपपछि उपाध्यायले घटनामा संलग्न भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।

बिहान जेन–जी युवाहरूलाई कुटपिट गर्ने एमालेका कार्यकर्तालाई बिहीबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि मात्रै प्रदर्शनकारी जेनजी युवाहरूले साढे ६ बजेबाट प्रदर्शन स्थगित गरेका थिए ।

किटानी जारीपछि घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं.६ का वडाध्यक्ष कैमुदिन अन्सारी पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार