जेनजी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको बताए ।
दुई समूहबीच पटक पटक झडप भइरहेको उनले जानकारी दिएका छन् । काठमाडौँबाट सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने जहाजहरू उड्न सकेका छैनन् । बिहानदेखि नै उडान ठप्प भएको थियो । कफ्र्यु बुधबार दिउँसो साढे १२ बजेदेखि राति ८ बजेसम्म लागि जारी गरिएको हो । एमाले नेताहरू काठमाडौँबाट सिमरा जाने जानकारी पाएपछि जेनजी युवाहरूले प्रदर्शन गरेका हुन् ।
सो क्रममा युवाहरूबीच झडप भएको हो । काठमाडौँबाट एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारामा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेनजी युवाहरूले प्रदर्शन गरेका हुन् । बुद्ध एयरबाट बिहान १०ः३५ बजे उडान भर्न लागेका नेताहरु जाने थाहा पाएसँगै जेनजी युवाहरुले सिमरा विमानस्थलमा नाराबाजी गरेर विमानस्थल अवरुद्ध गरेका थिए ।

