हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरूबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थ व्यवहार आवश्यक रहेको मन्त्रालयले बताएको छ ।
उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको छ । ‘खानेपानीलाई सधैँ सफा भाँडामा ढाकेर राखौँ । सफा भाँडाले मात्र खानेपानी निकालौँ,’ केन्द्रले भनेको छ, ‘खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔँ । सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखाऔँ । खानेकुरा सफा भाँडाले ढाकेर राखौँ ।’
खाना बनाउनुअघि, खाना खानु वा खुवाउनुअघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि साबुन पानीले हात धुनुपर्ने केन्द्रको भनाइ छ । ‘फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तिमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्छ,’ केन्द्रले भनेको छ, ‘साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।’
दिसापिसाब चर्पीमा मात्र गर्ने र बालबालिकाको दिसापिसाबलाई पनि चर्पीमा नै फ्याँनु पर्नेमा केन्द्रको जोड छ । झाडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खानुपर्ने केन्द्रले बताएको छ । ‘हैजा तथा झाडापखालाका लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ,’ केन्द्रले भनेको छ ।
