२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

गरिबको खाना ‘कोदो’ बन्यो ‘पोसिलो र महँगो’ खाद्य

सत्यपाटी
सत्यपाटी । म्याग्दी । २०८२ कात्तिक ३० गते आइतबार

म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूको रोजाइमा पर्न थालेपछि यसका परिकार अब ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर बिस्कुट पनि बन्न थालेको छ ।

माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थालेका छन् ।

यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले पनि कोदोको पीठोबाट बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आएका छन् । रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ ।

व्यवसायी खड्काले कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको बताए । विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताइएको छ । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ, जुन प्रतिदर्जन (१२ वटा) रु ६० का दरले बिक्री हुने गरेको छ ।

उद्यमी खड्काले पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको बताए ।

कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’का लागि कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु दुई लाख अनुदान सहयोग गरेको थियो । चालु आर्थिक वर्षमा परम्परागत बाली संरक्षण कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको छ, जसमा उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् ।

म्याग्दीको २,७५० हेक्टर क्षेत्रमा वार्षिक ३,३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिक, गर्भवतीहरूका लागि उत्तम खानाका रूपमा लिइन्छ ।

केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम र रुघाखोकीका रोगीहरूका लागि कोदो अति राम्रो मानिने र यसको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउने बताए । उद्यमी अनिल भण्डारीले खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधीकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने भनाइ राखेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार