हाल इस्लामवादी शक्तिहरू पुनः राजनीतिक रूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ । सरकारी स्वामित्वको ‘क्यारो एन्ड कम्पनी’ नामक यो उद्योगले पछिल्लो आर्थिक वर्षमा अभूतपूर्व नाफा कमाएको छ ।
यसलाई देशको कठोर मदिरा नीति र सामाजिक निषेधबीचको आश्चर्यजनक उपलब्धि मानिएको छ । विश्वको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको मुस्लिम राष्ट्र बङ्गलादेशमा मदिरा उत्पादन र बिक्री कडा रूपमा नियमनमा राखिएको छ । करिब १७ करोड जनसङ्ख्या भएको देशमा विशाल बहुमतले यसका उत्पादन किन्न वा उपभोग गर्न पाउँदैनन् ।
यद्यपि, ८७ वर्षअघि ब्रिटिस शासनकालमा स्थापना भएको क्यारो एन्ड कम्पनीले आर्थिक वर्ष २०२४–२५ मा एक करोड अमेरिकी डलर बराबरको नाफा कमाएको र कर तिरेको कम्पनीका प्रबन्ध निर्देशक रबिक हसनले बताए । ‘कम्पनीको इतिहासमै यो सबैभन्दा बढी नाफा हो,’ हसनले भने, ‘हामीले आगामी वर्षहरूमा अझ वृद्धि हुने अपेक्षा राखिरहेका छौँ ।’
बङ्गलादेश पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरताबाट गुज्रिएको छ । सन् २०२४ को अगस्टमा भएको जनआन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । मानव अधिकार उल्लङ्घनको आरोपमा आलोचना खेप्दै १५ वर्ष शासन गरेकी हसिनाले इस्लामवादी समूहहरूप्रति कडा नीति लिइरहेका थिए ।
उनी भारततर्फ पलायन गरेपछि देशभित्रका इस्लामवादी शक्तिहरू पुनः दृढ बनेका छन् । इस्लाममा निषेधित रक्सीलाई तिनले खासै निशाना नबनाए पनि सङ्गीत तथा नाटक उत्सव, महिला फुटबल प्रतियोगिता र चङ्गा उडाउने पर्व जस्ता ‘इस्लामविरोधी’ ठानेका सांस्कृतिक गतिविधिहरूमाथि प्रतिबन्धको माग गर्न थालेका छन् ।
यस्तै अवस्थामा अन्तरिम सरकारले अब देशलाई सन् २०२६ फेब्रुअरीमा तय गरिएको आम निर्वाचनतर्फ अघि बढाइरहेको छ । दारसाना सीमावर्ती औद्योगिक क्षेत्रमा अवस्थित क्यारोको विशाल कारखानामा लगातार गुन्जिने मेसिनहरूको आवाजबीच बोतलहरू भरिँदै गर्छन् । कम्पनीका प्रमुख उत्पादनहरू ‘इम्पेरियल ह्विस्की’ र ‘सारिना भोड्का’ हुन्, जसलाई नेदरल्यान्ड्सबाट आयात गरिएको स्वादका साथ उखुबाट डिस्टिल्ड गरिन्छ ।
‘हामी कसैलाई पनि पिउन प्रोत्साहित गर्दैनौँ,’ हसनले स्पष्ट पार्दै थपे, ‘हामीले उत्पादन तिनीहरूलाई मात्र बेच्ने गर्छौं, जो पहिले नै पिउँछन् ।’ बङ्गलादेशमा मादक पदार्थ खरिद गर्न सरकारी अनुमति अनिवार्य छ । मादक पदार्थ खरिद गर्न २१ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई मात्र दिइन्छ र प्रायः गैर–मुस्लिमहरूलाई मात्र उपलब्ध हुन्छ । अनुमतिपत्र लिन चिकित्सकीय सिफारिस आवश्यक हुन्छ ।
नार्कोटिक्स कन्ट्रोल विभागका महानिर्देशक हसन मारुफका अनुसार मदिरा निषेधित छ, तर केही समुदायका लागि अपवादको व्यवस्था गरिएको छ । त्यस्ता समुदायमा देशका चिया बगानमा कार्यरत विदेशी र स्थानीय कामदारहरू पर्छन् । क्यारोको सस्तो मदिरा त्यहाँका करिब एक लाख ५० हजार मुख्यतया हिन्दू कामदारहरूबीच लोकप्रिय छ । बङ्गलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर–मुस्लिम (मुख्यतया हिन्दू) रहेको अनुमान छ ।
यस वर्ष कम्पनीको चिनी विभागले घाटा बेहोरे पनि त्यसका मिलहरूले मल, भिनेगर र औद्योगिक मदिरा उत्पादन गरेका छन् । जमुना समूहको स्वामित्वमा रहेको देशको एक मात्र बियर उत्पादन गर्ने ‘हन्टर ब्रुअरी’ सँगै क्यारोले वैधानिक मदिराको प्रमुख स्रोत उपलब्ध गराइरहेको छ । अवैध मुनशाइन उत्पादन र आयातित मदिरामा हुने खतरनाक मिलावटको समस्याले ग्रस्त देशमा यी उत्पादनहरू सुरक्षित विकल्पका रूपमा स्थापित भएका छन् ।