२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

बाँकेमा थपिए सात हजार ८९ जना नयाँ मतदाता

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । कात्तिक मसान्तसम्म मात्र गरिने नयाँ नाम दर्ताका लागि अहिले बाँके जिल्लामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । सोही कारणले हालसम्म जिल्लामा पाँच हजारभन्दा बढी मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराइसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार अहिले दैनिक ३०० देखि ४०० जनासम्म नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालयमा आउने गरेका छन् । कात्तिक २५ गतेसम्म बाँकेमा सात हजार ८९ जना नयाँ मतदाता थपिएकोमा तीमध्ये पुरुष चार हजार ५५४ र महिला तीन हजार ५३४ जना छन् । उनका अनुसार अधिकांश मतदाता नयाँ युवा धेरै छन् । १८ देखि २५ वर्ष उमेर समूहका नयाँ मतदाता बढी थपिएका छन् ।

मतदाता नामावलीका लागि नाम दर्ता गराउन निर्वाचन कार्यालय पुगेका नेपालगन्जका २४ वर्षीय समद खानले आगामी निर्वाचनमा मतदान गर्न आतुर रहेको बताए । मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै केही आशा देखिएकाले पहिलो पटक मतदान गर्न आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले बताए । खजुराकी २० वर्षीया रितु थापा पनि मतदाता नामावलीमा नाम दर्ता गराउँदा उत्साहित देखिन्छन् ।

देशको विकास गर्ने प्रतिनिधिलाई मतदान गर्न आफूले नाम दर्ता गराएको उनले बताए । बाँकेमा २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४ जना मतदाता थिए । त्यसमा एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र अन्य ९ जना थिए । निर्वाचन कार्यालयमा अहिले नयाँ मतदाता नामवलीमा नाम दर्ता गर्ने, त्रुटी सच्चाउने, ठाउँसारी गर्ने लगायतका कामहरू भइरहेको कार्यालय प्रमुख शाहीले बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार