धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरको जहाज भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । शनिबार १० बजे उडेको श्री एयरको जहाज आधा बाटो आकाशबाट भैरहवा विमानस्थलमा अवतरण गराइएको हो ।
उडिरहेको जहाजको हाइड्रोलिक इन्डिकेसन सिस्टममा समस्या देखिएपछि सुरक्षित अवतरण गराइएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए । हाइड्रोलिक सिस्टममा समस्या आउँदा उडान–अवतरण कठिन हुन्छ ।
यस्तो बेला जहाजको नियन्त्रण कठिन हुने हुनाले आपतकालीन अवतरण गराउनुपर्छ । जहाजमा रहेका ८२ यात्रुसहित चालक दल सकुशल छन् । यात्रुलाई लिन भैरहवा विमानस्थलमा अर्को जहाज पठाउने तयारी भइरहेको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार
