सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।
सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो ।
विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ । सोही आधारमा अब एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निवेदनका लागि इच्छुकहरूले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्लिखित कागजात स्क्यान गरी सोही ढाँचामा आवेदन पेस गर्नुपर्नेछ । विभागले यो व्यवस्था घरजग्गा कारोबारमा पारदर्शीता र नियमन कायम गर्नका लागि लागू गरिएको जनाएको छ ।

सत्यपाटी